विदेशीले हिमाल आरोहण गर्दा नेपालले कति पाउँछ राजस्व ?
८ असोज, म्याग्दी । नेपालले वसन्तयामको हिमाल आरोहणबाट मात्रै करिब ७० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । यो रकम नेपालका साना ठूला सबै हिमालमा आरोहण गर्ने नागरिकबाट संकलन भएको हो ।
गत वसन्तयाममा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुले ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण शुल्क तिरेको विभागको वेबसाइटमा उल्लेख छ ।
पर्यटन विभागको पछिल्लो विवरणअनुसार चालु यामका लागि नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुषले अनुमति लिएका छन् । उनीहरुबाट रु चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ आरोहण शुल्क प्राप्त भएको छ ।
शरदमा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्ने प्रावधान रहेको विभागले जनाएको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सय डलरसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ ।
शरद याममा कुन हिमालका लागि कतिले लिए अनुमति ?
शरद् याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २८ वटा समूहका तीन सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लुपछि धेरै आरोहणको अनुमति लिने हिमालमा धवलागिरिका लागि १४ जनाले अनुमति लिएका छन् ।
पुथा हिमचुली नौ जना, अन्नपूर्ण चौथो पाँच, थाकर गो इस्ट चार, पुङ्गी पाँच, कुम्भकर्ण छ, अरनीको चुली तीन, अपी छ र मकालु पहिलो आरोहण गर्न दुई जनाले अनुमति लिएका छन् ।
शरदयाममा नेपालका हिमाल आरोहणका लागि सबैभन्दा बढी चीनका ६१ जनाले अनुमति लिएका विभागले जनाएको छ ।
