अन्तर्राष्ट्रिय दौड सम्मेलनमा दुई दर्जन बढी मुलुकबाट सहभागी

टुरिजमफेस
काठमाडौं । आउँदो जेठ २३ गते काठमाडौंमा हुने अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलनमा दुई दर्जन बढी मुलुक सहभागी हुने भएका छन् । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो ।
‘नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मन्चका रूपमा यो कन्फ्रेन्स थालनी गर्न लागेका छौं,’ नेपालका लागि एम्स दुतसमेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘परम्परागत रूपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कोशेढुंगा सावित हुने अपेक्षा गरेका छौं ।’
रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए ।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् । पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् ।
त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वबाट ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रूपमा म्याराथन’ विषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटनः आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौडः स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवद्र्धन गर्दै’ गरी दुई विषय रहनेछन् । हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् । वक्ता र सहजकर्ताका बारेमा चाँडै टुंगो गरिने आयोजकले जनाएको छ ।
एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुल आयोजक समिति गठन गरिनेछ । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुरलगायत दक्षिण एशियाली राष्ट्रहरू गरी दुई दर्जन बढी प्रतिनिधिको सहभागिता रहनेछ ।