नेपाल बारमा कांग्रेस–एमाले–राप्रपा गठबन्धनको ‘क्लिन स्वीप’

टुरिजमफेस
काठमाडौं । नेपाल बार एशोसिएसनको चुनावमा कांग्रेस–एमाले–राप्रपा गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । सत्तापक्ष नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायीहरूको संगठन मिलेर आधा–आधा उम्मेदवार उठाएर सबै पद जितेका छन् । त्यस्तै सत्तारुढ दलसँग सहकार्य गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट एक कानुन व्यवसायीले पनि निर्वाचनमा सफलता हात पारेका छन् ।
बारको अध्यक्षमा कांग्रेसनिकट कानुन व्यवसायीको संस्था डिएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र निर्वाचित भए भने महासचिवमा एमालेनिकट कानुन व्यवसायी संस्था पिएलएका केदारप्रसाद कोइराला निर्वाचित भए । माओवादी निकटबाट अध्यक्षमा रमनकुमार श्रेष्ठ र रास्वपानिकटबाट महासचिवमा यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका थिए । उनीहरूले एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट कानुन व्यवसायीका संगठनहरूसँग मिलेर संयुक्त उम्मेदवार उठाएका थिए ।
अध्यक्षमा विजयी भएका मिश्रले पाँच हजार ५२ र महासचिव कोइरालाले चार हजार आठ सय ७४ मत ल्याउँदा पराजित श्रेष्ठले दुई हजार छ सय २१ तथा न्यौपानेले दुई हजार तीन सय ६७ मत ल्याए । अधिकांश पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षहरूमा पदमप्रसाद लिम्बु, अजयशंकर झा, तेजबहादुर रावल, भूपेन्द्र खनाल, कृष्णप्रसाद पोख्रेल, विवशकुमार बस्नेत, सिद्धराज ओझा र महिलातर्फबाट अधिवक्ता सरस्वती श्रेष्ठ विजयी भए ।
त्यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की, दलित सदस्यमा चिरञ्जिबी तिलक्यानी, मधेसी तर्फ (काठमाडौं बाहिर)बाट सूर्यकुमार यादव, मधेसी,मुस्लिम खुला रिंकुकुमारी यादव, आदिवासी,जनजाति (काठमाडौं बाहिर) वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र आदिवासी जनजाति खुलामा मंगल सुन्दर शिल्पकार निर्वाचित भए । महिला सदस्यमा रंजिता कार्की, काठमाडौं बाहिरका अधिवक्ता किरण पौडेल र खुलातर्फ किरण न्यौपाने, शारदा गुरूङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् ।