पाकिस्तान र भारतबीच द्वन्द्व बढ्न थालेको हो ? भारतद्वारा ४८ घण्टाभित्र पाकिस्तानी नागरिकलाई देश छोड्न निर्देशन दिएपछि चौतर्फी चासो

टुरिजमफेस
काठमाडौं । घुम्न गएका एक नेपालीसहित २६ पर्यटकलाई आतंककारी समूहले भारत प्रशासित जम्मुकश्मीरमा हत्या गरेपछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र आफ्नो देश छाड्न चेतावनी दिएको छ ।
यस्तो चेतावनीपछि भारत र पाकिस्ताबीचको सम्बन्ध पुनः थप समस्यामा पर्ने अनुमान गरिएको छ । र, जसले ल्याउनसक्ने समस्याबारे चौतर्फी चासो बढेको छ । विगतमा भारत र पाकिस्तानबीच पटकपटक युद्ध हुने गरेको छ । यही बेला भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता समेत तोड्ने निर्णय गरेको छ । भारतीय मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा भएको सिन्धु जल सम्झौता अब भारतलाई मान्य छैन । जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौतामा सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरूको पानी पाकिस्तानले ८० प्रतिशत र बाँकी भारतले प्रयोग गर्ने उल्लेख छ र अहिलेसम्म सोही सम्झौता कार्यान्वयनमा छ । यो सम्झौता रद्द हुँदा पाकिस्तानको कृषि, पिउने पानीलगायतमा असर पुग्छ ।
भारतले जम्मुकश्मीरमा भएको आतंकवादी हमलामा पाकिस्तान संरक्षित हात रहेको दावी गर्दै आएको छ भने पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको दावी गरेका छन् । भारतको गुप्तचर निकायले उक्त आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) को हात रहेको दावी गरेको छ । आक्रमणमा भारतले तीन जनाको स्केच जारी गर्दै उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको आरोप लगाएको छ ।
भारतले गरेको सिन्धु सम्झौता खारेजी तथा ४८ घण्टाभित्र आफ्ना नागरिकलाई देश छोड्न दिएको चेतावनीबारे पाकिस्तानका रक्षामन्त्रीले भारतको कुनै पनि आक्रमणको जवाफ दिन पाकिस्तान तयार रहेको प्रतिक्रिया दिएका छन् । बिबिसी उर्दुसँग कुरा गर्दै उनले भारतले नै आतंककारी समूहलाई आश्रय दिएको दावी गरेका छन् । पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरूमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेको हत्या भएको थियो ।