घले गाउँको २५ वर्षे पर्यटन यात्राः गाउँदेखि स्मार्ट भिलेजसम्म

टुरिजमफेस
लमजुङ । लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँले गाउँ पर्यटनको २५ वर्षे यात्रा स्मरणीय ढंगले मनाउँदै छ । ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को अवसरमा आयोजित कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।
घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको रजत जयन्ती समारोहले पर्यटन क्षेत्रको यात्रामा घलेगाउँले गरेको योगदानलाई उजागर गर्दै गाउँ पर्यटनको महत्वलाई पुनः स्मरण गराउने उद्देश्य राखेको छ ।
कार्यक्रम उद्घाटन गर्दै मन्त्री गुरुङले घलेगाउँको यात्रा विकटता, अभाव र संघर्षबाट सुरु भएर आजको ‘स्मार्ट भिलेज’ मा रूपान्तरण भएको सुनाए। उनले भने, ‘परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता हो ।’
मन्त्री गुरुङले घलेगाउँलाई विश्वसामु चिनिएको गाउँको रूपमा उल्लेख गर्दै यसको सफलताको मोडेललाई देशभर फैलाउन सकिने धारणा राखे । उनले भने, ‘घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो । यहाँबाट सुरु भएको होमस्टे अभ्यास अहिले देशभर फैलिएको छ ।’
उनका अनुसार लमजुङ जिल्ला अहिले ७७ वटै जिल्लामा गाउँ पर्यटन विस्तार गर्ने नेतृत्वदायी जिल्लाका रूपमा परिचित भइरहेको छ । ‘गण्डकी प्रदेशमा मात्रै ३०६ वटा होमस्टे दर्ता भइसकेका छन् । तीमध्ये धेरै सफलतापूर्वक सञ्चालनमा छन्’ उनले भने ।
उनले नेपालका गाउँहरूलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको मिश्रणले देशलाई अन्तर्राष्ट्रिय पहिचान दिन सक्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ ।’
कार्यक्रममा स्थानीय बासिन्दा, होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । आयोजकका अनुसार आगामी दिनहरूमा सांस्कृतिक कार्यक्रम, पर्यटनसम्बन्धी छलफल, स्थानीय उत्पादनको प्रदर्शनी र अनुभव आदानप्रदान हुनेछन् ।