भारत र पाकिस्तानबीच युद्धविराम, किन युद्ध रोक्नुपर्ने स्थिति आयो ?

टुरिजमफेस
काठमाडौं । युद्ध सुरु भएको एक सातामै भारत र पाकिस्तान युद्ध रोक्न सहमत भएका छन् । जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफ दिन भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि दुई देशबीच युद्ध सुरू भएको थियो ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि दुवै देश स्थल, आकाश र समुद्रमा सबै प्रकारका गोलीबारी तथा सैन्य कारबाही बन्द गर्न सहमत भएको जानकारी दिए ।
भारतले खोजेजस्तो आतंकवादी संगठन ध्वस्त पार्न सफल भए÷नभएको बारेमा भने उनले केही खुलाएनन् । उनले पत्रकार सम्मेलनमार्फत यस्तो बताउनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए ।
त्यसलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि एक्समार्फत आफू र उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानका प्रधानमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र पाकिस्तानका सेना प्रमुखसँग कुरा गरेको र दुई देश तत्कालै युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए । पछि पाकिस्तानले पनि युद्धविरामको घोषणा गरेको थियो ।
युद्ध सुरु भएको केही दिनमै र खोजेजस्तो उपलब्धि नहुँदानहुँदै भारतीय सरकार युद्धविराम गर्न तयार भएपछि विपक्षीहरूले के कारणले युद्ध सुरु भएको र के कारणले युद्धविराम गर्नु परेको भन्दै नरेन्द्र मोदी सरकारको आलोचना गरिरहेका छन् । मोदी सरकारले दुई देशको समझदारीमा अर्थात तेस्रो पक्षको सहभागिताबिना युद्धविराम भएको सन्देश प्रवाह गर्ने प्रयास गरिरहेको छ ।