आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

parliament meeting
टुरिजमफेस
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसमाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो । छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।
आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए ।
parliament meeting