सिद्धिविक्रम शाह एआइजी बढुवाका लागि सिफारिस हुँदा ११ एसएसपी डिआइजी बन्दै

टुरिजमफेस
काठमाडौं । नेपाल प्रहरीमा रिक्त हुन गइरहेको अतिरिक्त महानिरीक्षक (एआइजी) मा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । केही दिनपछि अहिलेका एआइजी लालमणि आचार्य अनिवार्य अवकाशमा गएपछि शाहलाई मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गर्नेछ । तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका टोलीमध्ये एआइजी पुग्ने शाह पहिलो हुन् । यसअघि बैशाख ४ मा भएको एआइजी बढुवामा शाहलगायत राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरूको नाम छुटेको थियो । त्यतिबेलाको बढुवामा राजन अधिकारी, दानबहादुर कार्की, डा. मनोज केसी बढुवा भएका थिए ।
यसैबीच नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट बढुवा सिफारिस गरेको हो । यो टोलीका १२ जना रहेकोमा शारदाप्रसाद चौधरीबाहेक सबै बढुवा सिफारिसमा परेका छन् । एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डिआइजीमा बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।