एमालेपथमा नेपाली कांग्रेस पनि : गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टिकरण सोध्नुपर्ने माग

टुरिजमफेस
काठमाडौं । प्रजातान्त्रिक दल भनेर चिनिने नेपाली कांग्रेस पनि एमालेपथमा पुगेको छ । जसरी एमालेमा पार्टी अध्यक्ष वा अध्यक्षले गरेका निर्णय विरुद्ध कुनै नेताले आवाज उठाउँदा स्पष्टिकरण सोध्ने र कारबाहीको डण्डा चलाउने काम हुन्छ, नेपाली कांग्रेसले पनि त्यहि बाटो समातेको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टिकरण सोध्नुपर्ने माग चर्को रुपमा उठेपछि एमाले र कांग्रेसको कार्यशैलीबीच तात्विक भिन्नता सकिएको छ ।
गत वर्ष व्यवसायी मीनबहादुर गुरुङबाट करिब १ अर्ब रुपैयाँ बराबरको जग्गा र भवन दान लिएर पार्टी कार्यालय बनाउने एमालेको निर्णयमा नेतृत्वको आलोचना गर्दा एमालेका नेताहरु विन्दा पाण्डे, उषाकिरण तिमल्सेना र भीम रावललगायतलाई स्पष्टिकरण सोधिएको थियो । पछि रावललाई पार्टीबाट निष्कासित गरियो भने विन्दा र उषाकिरणलाई ६/६ महिना निलम्बन गरिएको थियो ।
अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि उनको राजीनामा माग्ने कांग्रेसका नेताहरुलाई पनि स्पष्टिकरण माग्नुपर्ने आवाज उठेको हो ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको भनी नेताहरूलाई दाबी गरेका थिए ।
बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई राजीनामा सोध्नुपर्ने धारणा आएको बताएका हुन् ।
उनका अनुसार डा. शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र बजगाईंसँग स्पष्टिकरण माग्न सभापति शेरबहादुर देउवालाई नेताहरुले आग्रह गरेका थिए ।
नेताहरूले उनीहरुसँग स्पष्टिकरण सोध्न माग गरेपनि सभापति देउवाले हुन्छ वा हुन्न भन्ने केही जवाफ नदिएको कोइरालाले बताए । संस्थापनइतरका नेता डा. शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने बताएका थिए । उनी पक्षीय सांसदहरू डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विचार राखेका थिए ।
कांग्रेस पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अध्यागम विभाग, विमानस्थलसँगै गृह मन्त्रालयका उच्च तहका कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको छ ।