बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपूर्णः चेम्बर अफ कमर्स

फाइल तस्विर
टुरिजमफेस
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट सन्तुलित रहे पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको जनाएको छ ।
‘१३ खर्ब १५ अर्ब रूपैयाँको राजस्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण देखिएको छ । आर्थिक गतिविधि विस्तार नभइरहेको बेला राजस्व संकलन कठिन देखिन्छ’, चेम्बरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विश्वको परिवर्तित आर्थिक अवस्थाका कारण २ खर्ब ३३ अर्ब रूपैयाँ बराबरको ऋण तथा ५५ अर्ब ४५ करोड रूपैयाँको अनुदान संकलनको लक्ष्य पूरा गर्न कठिन देखिन्छ ।’
३ करोड रूपैयाँभन्दा मुनिका आयोजनालाई संघीय सरकारको बजेटमा नराख्नुलाई चेम्बरले सकारात्मक रूपमा लिएको छ । यस्तै पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्र बजेटको उच्च प्राथमिकतामा पर्नुलाई पनि चेम्बरले सकारात्मक रूपमा लिएको छ ।
पुर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार एवं बजारीकरणबाट, धार्मिक र सांस्कृतिक पर्यटन तथा पर्वतीय र साहसिक पर्यटनको प्रर्वद्धन सम्बन्धी कार्यक्रमले ती क्षेत्रको विकासमा सम्भावना देखाएको चेम्बरले ठानेको छ । स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिने विषय सह्रानीय रहेको उल्लेख गर्दै चेम्बरले उत्पादनमूलक पर्यटन र निर्माण उद्योगका साथै आवास विकास कम्पनीहरूलाई सरल र सुलभ तरिकाले चालू पुँजी कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।
साथै वन क्षेत्र र वन पैदावरको व्यावसायिक र दिगो व्यवस्थापनका निम्ति आवश्यक नीतिहरू तर्जुमा गरिने कुरा बजेटमा आउनु सकारात्मक रहेको उसले जनाएको छ ।
फाइल तस्विर