काठमाडौं नजिकै रहेका हाइकिङका १२ गन्तव्य : जहाँ नपुगे आधाजुनी खेर जान्छ !

टुरिजमफेस
काठमाडौं । काठमाडौं उपत्यका नेपालको सबैभन्दा धेरै जनसंख्या भएको उपत्यका हो । संघीय राजधानीमा स्थाई तथा अस्थाईरुपमा बसोबास गर्नेको संख्या नेपालको कुल जनसंख्याको करिब एक तिहाई छ । पहिले पहिले उपत्यकामा घना वस्ती थिएन, घरबाट निस्केर २/४ किलोमिटर यता उता जाँदा खुल्ला फाँट र सानातिना चुचुराहरु भेटिन्थे । तर, अहिले उपत्यकामा यति धेरै भीडभाड छ कि उपत्यकाको पहाडको फेदीसम्मै वस्ती विकास भइसकेको छ । अब घरबाट निस्केर मात्रै खुल्ला ठाउँमा पुग्न सकिन्न । खुल्लाठाउँ खोज्नका लागि डाँडामै चढ्नुपर्छ । अर्थात अहिलेको चल्तीको शब्द ‘हाइकिङ’मै निस्किनुपर्छ ।
उपत्यकाभित्र हाइकिङको लागि धेरै ठाउँ छन् । कतिपय जोखिमयुक्त छन् भने कतिपय रुटमा पानी परेको बेला जान सकिन्न । तर, यहाँ यस्ता हाइकिङ रुट पनि छन् जहाँ १२ महिना नै सहज रुपमा जान सकिन्छ ।
बिहान निस्केर बेलुका घर आइपुग्ने हाइकिङ कल्चर शहरमा निकै चल्तीमा छ । हिजोआज शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई ‘रिफ्रेस’ गर्न चाहनेहरु बिदाको दिनमा हाइकिङ निस्किहाल्छन्। काठमाडौं उपत्यकाको वरिपरि त्यस्ता धेरै हाइकिङ ट्रेलहरू छन्, जहाँ बिहान शहरबाट निस्केर बेलुकी मज्जाले घर फर्किन सकिन्छ ।
शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङ्गमती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, ककनी आदि रुटहरू हाइकिङका लागि ‘विशेष’ नै मानिन्छन् । यहाँका सबै हाइकिङ रुट कित वन क्षेत्रमा पर्छन् कित सांस्कृतिक ट्रेल मा पर्छन् । कतिपय त यी दुवै विशेषता भएका पनि छन् । वनपाखा, हिमशृङ्खला, सांस्कृतिक सम्पदा, जनजीवन आदि नियाल्दै उपत्यकालाई फन्को मार्न सकिने हाइकिङ ट्रेलहरू अहिले धेरैको रोजाइमा पर्दै आएका छन् ।
हाइकिङ गन्तव्य छान्दा सकेसम्म नयाँ र सुरक्षित ठाउँ छान्नुपर्छ । समूहमा गरिने हाइकिङमा सबैको रुचिलाई ख्याल गर्नुपर्छ। सुरक्षा र आइपर्ने सम्भावित समस्यालाई ध्यानमा राखेर कम्तीमा ५ देखि १० जनाको समूहमा जानु राम्रो हुन्छ । त्यस्तै ट्रेल र मौसम अनुसारको तयारी पनि गर्नुपर्छ । हाइकिङमा सन ग्लास, तौलिया, क्याप, ह्याट, सन प्रोटेक्सन क्रिम जस्ता वस्तुहरु बोकेरा जाँदा सहज हुन्छ । जुत्ता र पोशाक हिंड्न सजिलो हुने किसिमको हुनुपर्छ । वर्षात्मा छाता र रेनकोट अनिवार्य नै हुन्छ । त्यस्तै, खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लट्ठी, क्यामेरा आदि बोक्नुपर्छ । यसरी तयारीका साथ गरिएको हाइकिङ पक्कै सम्झ्नलायक रहन्छ । आज हामी यहाँ केही हाइकिङ रुटहरुको वारेमा कुरा गर्ने छौ, जहाँ एकपटक जानैपर्ने रहेछ भन्ने तपाईँलाई लाग्ने छ ।
१. शिवपुरी
अधिकतम उँचाइः २,५६३ मीटर
लाग्ने समयः ६ देखि ७ घण्टा
हाइकिङ दूरीः १६ देखि १८ किमीसम्म
विशेषताः बूढानीलकण्ठ मन्दिर, नागी गुम्बा, पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा, लाङटाङ हिमाल रेञ्ज ।
प्रस्थानबिन्दु : बुढानिलकण्ठ
२. नागार्जुन
अधिकतम उँचाइः २,१२८ मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः ९ किमी
विशेषताः जामाचो गुम्बा, स्तूप, काठमाडौं उपत्यका र हिमाली दृश्य ।
प्रस्थान बिन्दु : बालाजु, काठमाडौं ।
३. चम्पादेवी
अधिकतम उँचाइः २,२८५ मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः १४ किमी
विशेषताः टौदह, फर्पिङ गुम्बा, लप्सीको पकेट क्षेत्र, नेवार र तामाङ समुदायको बस्ती ।
प्रस्थान बिन्दु : टौदह, वा मच्छेगाउँ, कीर्तिपुर
४. चन्द्रागिरी
अधिकतम उँचाइः २,४७५ मीटर
हाइकिङ दूरीः १२ किमी
समयः ५/६ घण्टा
विशेषताः पुरानो नेवार बस्ती, मच्छेनारायण मन्दिर, काठमाडौं उपत्यका र हिमाली दृश्य ।
प्रस्थान बिन्दु : मच्छेगाउँ, कीर्तिपुर
५. फूलचोकी
अधिकतम उँचाइः २,७६५ मीटर,
लाग्ने समयः ७/८ घण्टा,
हाइकिङ दूरीः १८ किमी,
विशेषताः गोदावरी बोटानिकल गार्डेन, हिमशृङ्खला र उपत्यकाको दृश्यावलोकन ।
प्रस्थान बिन्दु : गोदावरी, ललितपुर ।
६. नगरकोट
अधिकतम उँचाइः २,१७५ मीटर
हाइकिङ दूरीः १६/१७ किमी
समयः ७/८ घण्टा
विशेषताः चाँगुनारायण मन्दिर, कृषि क्षेत्र, पुराना नेवारी बस्ती, हिमशृङ्खला ।
प्रस्थान बिन्दु : चागुनारायण, भक्तपुर ।
७. साँखु
अधिकतम उँचाइः २,३६६ मीटर
हाइकिङ दूरीः १४ किमी
समयः ५/६ घण्टा
विशेषताः बज्रयोगिनी मन्दिर, पुरानो नेवार र तामाङ बस्ती, कृषि क्षेत्र, मणिचूड ताल ।
प्रस्थान बिन्दु : साँखु, काठमाडौं ।
८. नमोबुद्ध
अधिकतम उँचाइः १८०० मीटर
हाइकिङ दूरीः १२.५ किमी
समयः ५/६ घण्टा
विशेषताः नमोबुद्ध स्तूप, सुन्तला खेती, तामाङ वस्ती, हिमाली दृश्य ।
प्रस्थान बिन्दु : धुलिखेल, काभ्रेपलाञ्चोक ।
९. लाकुरीभञ्ज्याङ
अधिकतम उँचाइः १,९७७ मीटर
हाइकिङ दूरीः ९ किमी
समयः ५/६ घण्टा
विशेषताः गाउँबस्ती, वन, हिमाल र सूर्योदय ।
प्रस्थान बिन्दु : दधिकोट, भक्तपुर वा गोदावरी, ललितपुर ।
१०. बल्थली
उँचाइः १४०० मीटर
हाइकिङ दूरीः १० किमी
समयः ५/६ घण्टा
विशेषताः नेवार र ब्राह्मण बस्ती, गाउँको यात्रा, चार नदीका चार झोलुङ्गे पुल र खेती अवलोकन ।
प्रस्थान बिन्दु : काभ्रेभञ्ज्याङ, काभ्रेपलाञ्चोक ।
११. आशापुरी महादेव
अधिकतम उँचाइः २,२७८ मीटर
लाग्ने समयः ६/७ घण्टा
हाइकिङ दूरीः १६ किमी
विशेषताः सूर्यविनायक, पाइलटबाबा आश्रम, नेवार र तामाङ बस्ती।
प्रस्थान बिन्दु : गुण्डू, भक्तपुर ।
१२. सुन्दरीजल
अधिकतम उँचाइः १,२८० मीटर
लाग्ने समयः ६/७ घण्टा
हाइकिङ दूरीः १४ किमी
विशेषताः वाग्मतीको मुहान, झरना, दह, तामाङ र गुरुङ बस्ती।
प्रस्थान बिन्दु : सुन्दरीजल, काठमाडौं ।