कमजोर कूटनीतिले तिलौराकोट विश्व सम्पदा सूचीमा पर्न सकेन

टुरिजमफेस
काठमाडौं । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लामो समयदेखिको प्रयास यसपटक पनि सफल हुन सकेन ।
खासगरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न नेपालले खेल्नुपर्ने भूमिका प्रभावकारी रूपमा खेल्न नसक्दा पछिल्लो प्रयास पनि असफल भएको हो । यद्यपि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे , लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतका सरकारी अधिकारी केही दिनदेखि फ्रान्समा छन् ।
फ्रान्सको पेरिसमा भइरहेको युनेस्कोको ४७औं सेसनमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव छलफल हुँदा नेपालले गतिलो पहल कदमी र कारणको दावी लिन नसकेको हो ।
युनेस्कोको इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्सको प्रतिवेदनमा भने तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने उल्लेख छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नाममा सरकारी अधिकारीहरूले भने राज्यको ठूलो रकम स्वाहा पारेका छन् ।
लुम्बिनी विकास कोष सदस्य सचिव सानुराजा शाक्यले नेपाली टोली हेरिटेज डिप्लोमेसीमा कमजोर देखिँदा लामो समयदेखिको प्रयास असफल हुन पुगेको बताए ।
पुरातत्वविद्हरूले तिलौराकोट दक्षिण एशियामा सबैभन्दा सुरक्षित, र महत्वपूर्ण ऐतिहासिक सम्पदा स्थल भएको बताएका छन् । युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मा टेन्टेटिभ वल्र्ड हेरिटेज साइटको सूचीमा राखेको थियो । त्यस यतादेखि त्यो सूचीभन्दा माथि उठ्न सकेको छैन ।
ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोट करिब २९ वर्ष गौतम बुद्धले बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी हो । झन्डै ७० वर्षदेखि तिलौराकोटमा उत्खनन् तथा अन्वेषणको काम भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा ३०० वर्षअघि नै व्यवस्थित रहेको विभिन्न तथ्य फेला परेका छन् ।
विश्व सम्पदा सूचीमा तिलौरोकोटको करिब १४० बिघा क्षेत्रफल प्रस्ताव गरिएको थियो । विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । नेपालका काठमाडौँ उपत्यका र लुम्बिनी यसअघि नै विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका छन् ।
विगतमा तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको थियो । तर विविध कारणले सफल हुन सकिएको थिएन । तिलौराकोटको पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हुवेन साङले भ्रमण गरेका थिए । सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन् गरेपछि झनै यसको महत्व महत्व बढ्दै गएको हो ।
के हुन्थ्यो विश्व सम्पदा सूचीमा सूचीकृत हुँदा ?
विश्व सम्पदामा सूचीकृत हुँदा सम्पदा क्षेत्रको महत्व बढ्छ । त्यसपछि पर्यटकीय गतिविधि बढ्नुको साथै सम्पदा क्षेत्रको सुन्दरता बढाउनुको साथै अनियन्त्रित शहरीकरणलाई नियन्त्रमा मद्धत पुग्ने हुन्छ ।