होटल एभरेष्टसहित ३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआइपी सम्मान

टुरिजमफेस
काठमाडौं । सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआइपी) सम्मान गरेको छ । सीआइपी प्राप्त गर्नेमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआइपी प्राप्त गरेका छन् ।
व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूको तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई मानार्थ सीआइपी सम्मान प्रदान गरिएको छ । यी संस्थाहरूलाई निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएको भनेर सम्मान गरिएको हो ।
यस्तै, व्यवसायीका प्रतिनिधिमूलक महासंघतर्फ नेपाल हस्तकला महासंघ र निर्यात व्यवसायी महासंघका अध्यक्षलाई मानार्थ सीआइपी प्रदान गरिएको छ । यसबाहेक व्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघतर्फ नेपाल छुर्र्पी व्यवसायी संघ झापा, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल तयारी पोशाक उद्योग संघ र नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले मानार्थ सीआइपी सम्मान पाएका छन् । उनीहरूलाई तेश्रो मुलुकतर्फ आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा कुल ५ अर्ब वा सोभन्दा बढी निर्यात गरेको आधारमा यो सम्मान प्रदान गरिएको हो ।
यसैगरी तेस्रो मुलुकतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँच वस्तु मध्ये प्रत्येकबाट एक–एक जना व्यवसायीलाई सीआइपी सम्मान पदान गरिएको छ । जस अन्तर्गत ऊनी गलैंचातर्फ थर्ड आइ इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्रालि, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोटर्स प्रालि, छुर्र्पीतर्फ मनराम हिमालयन हेण्डिक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इण्डष्ट्रिजले सीआइपी सम्मान प्राप्त गरेका छन् ।
यस्तै भारततर्फ निकासी रकमको आधारमा सम्मान पाउनेमा डाबर नेपाल प्रालि, आरती स्ट्रीप्स र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई र चीनतर्फको निकासी रकमका आधारमा छोमेन ट्रेडर्स, फिन्जो सोनाम इन्टरप्राइजेज र अष्ठमंगल काठमाडौंले सिआइपी सम्मान प्राप्त गरेका छन् । यसैगरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्तामा गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रालिले पनि सीआइपी सम्मान पाएको छ ।
प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन झापा र जडिबुटी क्षेत्रबाट एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स दार्चुलाले यो सम्मान प्राप्त गरेका छन् । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा जनकपुर रिफाइनरिज काठमाडौं र तेस्रो मुलुकतर्फ गत दुई आर्थिक वर्षमा एक अर्ब वा सोभन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीमध्ये द सांग्रिला कार्पेट एण्ड ह्याण्डिक्राफ्ट, एभरेष्ट फेसन र त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड र स्टार्टअपतर्फ माइण्डफुल क्राफ्ट प्रालि काठमाडौंले उक्त सम्मान प्राप्त गरेका छन् ।
यसैगरी बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनीमा आइएमई लिमिटेड र पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडले सीआइपी सम्मान प्राप्त गरेका छन् ।