नेपालको नयाँ पर्यटन नीति : सांस्कृतिक र प्राकृतिक रुपमा अद्वितीय पयर्टकीय गन्तव्य बनाउने लक्ष्य

काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ ।
सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबिच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरेका हुन् । मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्त्वपूर्ण हुने बताए ।
उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरू समेत नीतिमा समावेश गर्दै जाने बताए । उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए।
उनले सङ्घीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए। नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।
मन्त्रालय मातहतका निकायहरूको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए । उनले सबै निकायहरूको लागि विशिष्टीकृत ऐन निर्माणमा मन्त्रालय सक्रिय रहेको पनि बताए ।