अन्तर्राष्ट्रिय पर्यटक आगमन ६९ करोड
काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले सार्वजनिक गरेको World Tourism Barometer अनुसार अन्तर्राष्ट्रिय पर्यटक आगमन ५ प्रतिशतले बढ्दै करिब ६९ करोड पुगेको छ। यो संख्या सन् २०१९ अर्थात् महामारीअघिको स्तरभन्दा करिब ४ प्रतिशत बढी हो।
क्षेत्रगत रूपमा हेर्दा अफ्रिकामा सबैभन्दा तीव्र वृद्धि देखिएको छ। सन् २०२४ को सोही अवधिको तुलनामा अफ्रिकामा पर्यटक आगमन १२ प्रतिशत ले बढेको हो। उत्तर अफ्रिकामा १४ प्रतिशत र सहारा–दक्षिण अफ्रिकामा ११ प्रतिशत वृद्धि दर्ज भएको छ।
एसिया–प्रशान्त क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ। यस क्षेत्रमा कुल आगमन ११ प्रतिशत ले बढेको छ, जसको मुख्य चालक उत्तर–पूर्वी एसियामा देखिएको २० प्रतिशतको उछाल हो। यद्यपि, समग्र रूपमा यो क्षेत्र अझै पनि महामारीअघिको स्तरभन्दा ८ प्रतिशत तल नै रहेको छ।
विश्वकै सबैभन्दा ठूलो पर्यटन बजार युरोपले करिब ३४ करोड पर्यटकलाई स्वागत गरेको छ। युरोपमा सन् २०२४ को तुलनामा ४ प्रतिशत र महामारीअघिको तुलनामा ७ प्रतिशत वृद्धि भएको UNWTO ले जनाएको छ। मध्य र पूर्वी युरोपमा ९ प्रतिशतको बलियो पुनरुत्थान देखिए पनि, यो उपक्षेत्र अझै पनि सन् २०१९ को स्तरभन्दा ११ प्रतिशत कम छ।
अमेरिका क्षेत्रमा भने समग्र वृद्धि सीमित रह्यो। कुल आगमन ३ प्रतिशतले मात्र बढ्यो। दक्षिण अमेरिकामा १४ प्रतिशतको उल्लेखनीय वृद्धि भए पनि उत्तर अमेरिका र क्यारिबियन क्षेत्रमा अमेरिकी बजारबाट कमजोर मागका कारण स्थिर अवस्था देखिएको छ।
यस अवधिमा मध्यपूर्वमा पर्यटक आगमन वर्षेनि आधारमा ४ प्रतिशतले घटेको छ। तर, महामारीअघिको स्तरसँग तुलना गर्दा भने यस क्षेत्रमा आगमन अझै पनि २९ प्रतिशतले बढी रहेको छ।
UNWTO को प्रतिवेदनअनुसार केही गन्तव्यले विशेष उपलब्धि हासिल गरेका छन्। जापान र भियतनाम (२१–२१ प्रतिशत), दक्षिण कोरिया (१५ प्रतिशत), मोरोक्को (१९ प्रतिशत), मेक्सिको र नेदरल्यान्ड्स (७–७ प्रतिशत) ले उल्लेखनीय वृद्धि गरेका छन्। विश्वका शीर्ष दुई पर्यटकीय गन्तव्य फ्रान्स र स्पेनमा पनि ५ प्रतिशतको वृद्धि देखिएको छ।
पर्यटनबाट हुने आम्दानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। जापान (१८ प्रतिशत), बेलायत (१३ प्रतिशत), फ्रान्स (९ प्रतिशत), स्पेन (८ प्रतिशत) र टर्की(८ प्रतिशत) ले बलियो पर्यटन आम्दानी गरेका छन्। साथै चीन (१६ प्रतिशत), स्पेन (१६ प्रतिशत) र बेलायत (१५ प्रतिशत) जस्ता प्रमुख बजारबाट बाहिरिने खर्च बढ्दा विश्वव्यापी पर्यटन माग थप सुदृढ भएको छ।
एजेन्सीको सहयोगमा
