बगरमा पसिना, राजमार्गमा बजार : मुक्तकमैयाको आत्मनिर्भरताको कथा
कञ्चनपुर ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित वनहरा क्षेत्रमा पूर्व–पश्चिम महेन्द्रराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन केहीबेर रोकिएर ताजा काँक्रा, तरबुजा र खरबुजा किन्ने दृश्य अहिले सामान्य बनेको छ। सडक किनारमा खरले छाएका साना टहरामा सजाइएका हरिया तरकारी र फलफूलले यात्रुको ध्यान तान्छन्। चर्को गर्मीमा शीतलता खोज्दै रोकिने यात्रुका लागि यी उत्पादन स्वाद र ताजगीको स्रोत हुन् भने स्थानीय मुक्तकमैया परिवारका लागि जीवन धान्ने आधार।
वनहरा नदीको बगरमा पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूल अहिले राजमार्ग बजारमार्फत सीधै उपभोक्तासम्म पुगिरहेका छन्। यसले मुक्तकमैया समुदायको जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ।
स्थानीय नीरज राना विगत चार वर्षदेखि नदीकिनारको बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन गर्दै आएका छन्। बिहानदेखि साँझसम्म राजमार्ग छेउमै बसेर बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको उनी बताउँछन्।
“दैनिक पाँच हजार रुपैयाँसम्म बिक्री हुन्छ,” रानाले भने, “सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ। यही खेतीले परिवार चलिरहेको छ।”
सरकारले पुनःस्थापनाका क्रममा दिएको पाँच कट्ठा जमिनमा कच्ची घर बनाएर बसोबास गरिरहेका रानाजस्ता धेरै मुक्तकमैया परिवार अहिले बगरखेतीमै निर्भर छन्। वनहरा मुक्तकमैया बस्तीका ८० भन्दा बढी परिवार यस खेतीमा संलग्न रहेको स्थानीय बताउँछन्।
स्थानीय किसान शिवलाल रानाले बगर र लिजमा लिएको खेतमा तरकारी खेती गर्दै आएका छन्। गत वर्ष तरबुजा नबिक्दा घाटा व्यहोरेपछि यस वर्ष काँक्रा उत्पादन बढाएको उनले बताए। “सिजनमा पाँच लाखसम्मको बिक्री हुन्छ,” उनले भने, “दुईदेखि तीन लाख रुपैयाँसम्म बचत गर्न सकिन्छ।”
गर्मी मौसममा वनहरा क्षेत्र यात्रुका लागि ‘राजमार्ग तरकारी बजार’ जस्तै बन्ने गरेको छ। यहाँ काँक्रा प्रतिकिलो ४० रुपैयाँ, तरबुजा २५ रुपैयाँ, तोरैयाँ ६० रुपैयाँ र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। ताजा र स्थानीय उत्पादन भएकाले यात्रुहरू यहाँ रोकिन रुचाउने गर्छन्।
सवारी चालक रमेश बोहराका अनुसार वनहराका उत्पादन स्वादिलो र ताजा हुने भएकाले आफू प्रायः यहीँबाट किनमेल गर्छन्। “राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ,” उनले भने, “स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ।”
तर, सडक किनारमै व्यापार गर्नुपर्ने बाध्यताले जोखिम पनि बढाएको छ। तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण दुर्घटनाको डर सधैं रहने व्यवसायीहरू बताउँछन्। स्थानीय धिरेन्द्र रानाले सुरक्षित बिक्री केन्द्र निर्माण गर्न नगरपालिकासँग माग गरेका छन्। “व्यवस्थित बजार भए दुर्घटनाको जोखिम कम हुन्थ्यो,” उनले भने, “तर अहिलेसम्म कुनै पहल भएको छैन।”
किसानका अनुसार बगरखेतीबाट आम्दानी राम्रो भए पनि लगानी र श्रम उत्तिकै आवश्यक पर्छ। बीउबिजन, मलखाद, सिँचाइ, गोडमेल र जोताइमै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको किसान अनिता रानाले बताइन्। “खेती सजिलो काम होइन,” उनले भनिन्, “दिनरात मिहिनेत गरेपछि मात्रै राम्रो उत्पादन हुन्छ।”
स्थानीय जुगमानी चौधरीका अनुसार यही खेतीबाट आएको पैसाले चामल, नुन, तेलजस्ता दैनिक उपभोग्य सामग्री किन्ने गरिएको छ। “पहिले मजदुरी खोज्दै हिँड्नुपर्थ्यो,” उनले भने, “अहिले आफ्नै उत्पादन बेचेर घर चलाउन सक्ने भएका छौं।”
वनहराका मुक्तकमैया परिवारका लागि बगरखेती अहिले केवल खेती प्रणाली होइन, आत्मनिर्भरताको अभियान बनेको छ। नदीको बगरमा बगाएको पसिनाले उनीहरूलाई सम्मानपूर्वक बाँच्ने आधार दिएको छ।
तर स्थानीयको गुनासो छ—कृषि अनुदान, सिँचाइ सुविधा, बीउबिजन र बजार व्यवस्थापनजस्ता सरकारी कार्यक्रम अझै उनीहरूको पहुँचमा पुग्न सकेका छैनन्। “यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,” स्थानीय लीलावती वडायकले भनिन्।
वनहरा नदीकिनारको बगर अहिले मुक्तकमैया समुदायका लागि आशाको खेत बनेको छ, जहाँ पसिनाले फलाएको उत्पादनले केवल बजार होइन, जीवन पनि धानिरहेको छ।
