विश्वकै साहसिक पेशामध्ये गनिने भिर मौरीको मह सिकार गण्डकी प्रदेशका लमजुङ, गोरखा, म्याग्दी लगायत जिल्लामा गरिने भए पनि लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकको छिप्ली भिर अहिले पर्यटकको विशेष आकर्षण बनेको छ। सयौँ फिट अग्लो भिरमा डोरीको भरमा झुन्डिएर मह निकाल्ने दृश्यले विदेशी पर्यटकलाई लोभ्याउने गरेको स्थानीय बताउँछन्।
स्थानीय सिकारी टेकबहादुर गुरुङका अनुसार विगतमा ज्येष्ठ पुस्तामा सीमित रहेको मह सिकारलाई अहिले युवापुस्तामा हस्तान्तरण गर्ने अभियान चलाइएको छ। “यो केवल मह निकाल्ने काम होइन, हाम्रो संस्कृति, साहस र पहिचानसँग जोडिएको परम्परा हो,” उनले भने।
भिर मौरीको मह औषधिजन्य गुणका कारण महँगो मूल्यमा बिक्री हुने गरेको छ। वर्षमा दुई पटक—वैशाख–जेठ र असोज–कात्तिकमा—मह सिकार गरिन्छ। यस अवधिमा गाउँमा आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ्ने गरेको स्थानीयको अनुभव छ।
मह सिकारको तयारी आफैंमा रोचक सांस्कृतिक प्रक्रिया हो। जंगलबाट निगालो ल्याएर चोयाबाट परम्परागत लठ्ठा र भर्याङ बनाइन्छ। गाउँले सामूहिक रूपमा जुटेर तयार गर्ने यस्ता भर्याङ तीन–चार वर्षसम्म प्रयोग गर्न सकिन्छ। यही सामूहिकता र परम्परागत सीप अहिले पर्यटनको जीवित सम्पदा बनेको छ।
स्थानीय सिकारी मीनबहादुर गुरुङका अनुसार पछिल्ला वर्षमा मह सिकार अवलोकन गर्न विदेशी पर्यटकको संख्या बढ्दो छ। “पहिले गाउँका मानिस मात्र सहभागी हुन्थे, अहिले विदेशी पर्यटक विशेष रूपमा हेर्न आउँछन्,” उनले भने। आधुनिक सुरक्षात्मक पोशाक प्रयोग हुन थालेपछि मह सिकार केही सुरक्षित पनि बनेको छ।
टर्कीबाट आएका पर्यटकले नेपालीको साहसिक जीवनशैली आफ्नै आँखाले देख्न पाउँदा रोमाञ्चित भएको बताए। “यस्तो जोखिमपूर्ण मह सिकार मैले पहिलोपटक देखें। यहाँका स्थानीयको साहस अद्भुत लाग्यो,” उनले भने।
पर्यटन व्यवसायीहरूका अनुसार भिर मौरीको मह सिकारलाई ‘एडभेन्चर टुरिजम’, ‘इको–टुरिजम’ र ‘कल्चरल एक्सपेरियन्स’ सँग जोडेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ। मह सिकार हेर्न आउने पर्यटकलाई स्थानीय संस्कृति, गुरुङ समुदायको जीवनशैली, हिमाली भोजन र पदयात्रासँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
विशेषज्ञहरू भन्छन्, प्राकृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्दै यसलाई व्यवस्थित पर्यटन उत्पादनका रूपमा विकास गर्न सके भिर मौरीको मह सिकार नेपालकै साहसिक पर्यटनको विशिष्ट पहिचान बन्न सक्छ। स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरकारबीच सहकार्य गरेर सुरक्षा, प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।