रसुवा–भोटेकोसी बाढीको कृषि क्षेत्रमा ठूलो प्रहार, धानदेखि पशुधनसम्म अर्बौँको क्षति
काठमाडौं । रसुवा र आसपासको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले खेतीपाती र पशुपालनमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) अनुसार बाढीबाट कृषि तथा पशुपन्छी क्षेत्रमा अर्बौँ रुपैयाँ बराबरको नोक्सान भएको छ।
बाढीको प्रत्यक्ष असर धान र तरकारी खेतीमा परेको छ। विभिन्न प्रभावित स्थानीय तहमा गरी १ हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ भने करिब ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा नोक्सानी भएको छ।
कृषि क्षतिको प्रभाव नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न स्थानीय तहमा देखिएको छ। नुवाकोटको विदुर, लिखु र बेलकोटगढी तथा धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छीलगायत क्षेत्र बढी प्रभावित भएका छन्। गोरखाका गण्डकी र शहीद लखन तथा रसुवाका केही स्थानीय तहमा पनि बाढीले कृषि उत्पादनमा क्षति पुर्याएको छ।
विदुरमा मात्रै २ हजार ४५० टन धानमा क्षति
धान उत्पादनतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित देखिएको छ। त्यहाँ ७०० हेक्टर धान खेती प्रभावित हुँदा करिब २ हजार ४५० टन धान उत्पादनमा क्षति पुगेको अनुमान छ।
लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टरमा ७०० टन धान उत्पादनमा क्षति पुगेको छ।
धादिङको बेनीघाट रोराङमा २५, गजुरीमा ७५, सिद्धलेकमा ५८ र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० तथा उत्तरगयामा १४३ हेक्टर धान खेतीमा बाढीको असर परेको प्रतिवेदनले देखाएको छ।
तरकारी खेतीमा पनि विदुरमा ठूलो क्षति भएको छ। विदुरको ९८ हेक्टर क्षेत्र प्रभावित हुँदा करिब १ हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ, गजुरीमा सात, सिद्धलेकमा दुई र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
दुई लाख ५० हजारभन्दा बढी पशुपन्छी प्रभावित
बाढीले खेतबारीसँगै कृषकको अर्को महत्वपूर्ण आम्दानीको स्रोत पशुपालनमा पनि ठूलो क्षति पुर्याएको छ। प्रतिवेदनअनुसार २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्।
पशुपन्छीमा भएको क्षतिको अनुमानित आर्थिक मूल्य १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ रहेको छ।
सङ्ख्याका आधारमा कुखुरा सबैभन्दा धेरै प्रभावित भएका छन्। बाढीबाट २ लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको करिब ८५ प्रतिशत हो। यद्यपि कुल आर्थिक क्षतिमा कुखुराको हिस्सा करिब ४.८ प्रतिशत मात्रै रहेको छ।
आर्थिक क्षतिको दृष्टिले भने भैँसीमा सबैभन्दा ठूलो असर परेको छ। ४ हजार ५७२ भैँसी प्रभावित हुँदा करिब ४५ करोड ७२ लाख रुपैयाँको क्षति भएको अनुमान छ।
त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख, गाईगोरुमा १७ करोड ९२ लाख बराबरको क्षति भएको छ।
अन्य पशुमा एक करोड चार लाख, बङ्गुर तथा बँदेलमा एक करोड ९६ लाख र भेडामा २५ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ। कुखुरामा पाँच करोड ३७ लाख तथा अन्य चरामा करिब एक लाख रुपैयाँको क्षति पुगेको छ।
ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन असरको जोखिम
पशुधनतर्फ भएको कुल आर्थिक क्षतिमा भैँसी, बाख्रा/च्याङ्ग्रा र गाईगोरुको हिस्सा मात्रै ९२.३ प्रतिशत रहेको छ। यसले बाढीले कृषकको तत्कालीन उत्पादनमा मात्र नभई ग्रामीण परिवारको नियमित आम्दानीको आधारमै ठूलो धक्का दिएको देखाउँछ।
धान, तरकारी र पशुधनमा एकैपटक भएको क्षतिले प्रभावित क्षेत्रमा खाद्य उत्पादन, किसानको आय र स्थानीय ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन असर पर्न सक्ने देखिएको छ। त्यसैले बाढी प्रभावित किसानको पुनर्स्थापनामा तत्काल राहतसँगै कृषि उत्पादन र पशुपालन पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
