बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, खोजीका लागि हेलिकप्टर परिचालन
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उङ्गिलुङ खोलामा आएको बाढीपछि गएको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्। पहिरोले चार वटा भेडीगोठसँगै करिब डेढ सय पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा चुमनुब्री गाउँपालिका–६, चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती लाक्पा थोर्मा लामा, ६६ वर्षीया सोम भुटी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरू घटनास्थल आसपासका भेडीगोठमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठका अनुसार पहिरोले चार परिवारका भेडीगोठ बगाएको हो। गोठमा रहेका पाँच जना सम्पर्कविहीन छन् भने ठूलो संख्यामा पशुचौपायासमेत बगाएको छ।
उङ्गिलुङ खोलामा पहिरो खस्दा खोला थुनिएको र पछि एक्कासि खुलेपछि बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको बताइएको छ। उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिन्छ। थुनिएको खोला खुलेपछि आएको बाढीले नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ। खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नुका साथै स्थानीय बासिन्दा र प्रहरी टोली पनि परिचालन गरिएको छ।
बेपत्ता व्यक्तिहरूको अवस्थाबारे जानकारी जुटाउन नदीको तल्लो तटीय क्षेत्रमा समेत खोजी तथा सूचना संकलन भइरहेको प्रशासनले जनाएको छ।
