गलौंतीमा भित्तातर्फ सडक काटेर पृथ्वी राजमार्ग खुलाइयो
काठमाडौं । धादिङको गलौंतीमा सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। त्रिशूली नदीको कटानका कारण सडकको भाग भासिएपछि अवरुद्ध भएको राजमार्ग भित्तातर्फ सडक काटेर यातायातका लागि खुलाइएको हो।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार भासिएको सडकखण्डमा करिब १६० मिटर क्षेत्रमा भित्तातर्फ कटिङ गरेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ।
सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा रोकिएको यातायात सेवा पुनः सुचारु भएको छ। यसबाट उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
मन्त्री लम्सालले विशेषगरी रातिको समयमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्। सडकको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित रूपमा सवारी चलाउनुपर्नेमा उनले जोड दिएका छन्।
