गोरखाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरसहित सुरक्षाकर्मी खटाइयो
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।
आइतबार बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगाएको तथा घट्टेखोला आसपासका केही घरमा लेदोसहितको पानी पसेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
बाढीसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जानकारी दिएका हुन्। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरसमेत परिचालन गरिएको उनले उल्लेख गरेका छन्।
बूढीगण्डकी नदीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै मन्त्री गुरुङले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अपिल गरेका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई नदी आसपासका जोखिमयुक्त स्थानबाट टाढा रहन र सुरक्षाकर्मी तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
गृहमन्त्री गुरुङले आपत्कालीन सहायता आवश्यक परे गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।
