घटस्थापना, बडादशैं पर्व सुरु
काठमाडौं । नेपालीहरूको प्रमुख चाड बडादशैं सुरु भएको छ। दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको जनाएको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज सूर्योदयकालमा प्रतिपदा तिथि रहेकाले शास्त्रीय मान्यताअनुसार घटस्थापनाका लागि आजकै दिन निर्धारण गरिएको हो। दिनभर चित्रा नक्षत्र पर्ने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तलाई आधार मानेर साइत तय गरिएको उनले बताएका छन्। घटस्थापना सोमबार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा फैलिएका भनाइ शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारेका छन्।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैंमा धार्मिक अनुष्ठान, पूजाआजा र पारिवारिक भेटघाटको विशेष महत्त्व छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक जमरा राख्ने परम्परा छ।
यसका लागि शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा उमारिन्छ। धार्मिक मान्यताअनुसार जौको जमरा दुर्गा भवानीलाई अर्पण गरिन्छ र विजयादशमीका दिन टीका तथा प्रसादसँगै ग्रहण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जौको जमरा राख्ने व्यवस्था छ।
घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा भवानीका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ।
दशैंको सातौँ दिन फूलपाती भित्र्याउने चलन छ। महाअष्टमी र महानवमीमा दशैंघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजाआजा गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा पनि छ।
दशैंका अवसरमा देशभरका भगवती मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ। यस पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा लिइन्छ। धार्मिक आस्थासँगै परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, सद्भाव र आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा पनि दशैं मनाइन्छ।
यस वर्षको विजयादशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको जनाएको छ।
