पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन, जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह
धादिङ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडक मर्मतपछि सवारी आवागमन पुनः नियमित गरिएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार गलौंदी क्षेत्रमा आवश्यक मर्मत कार्य गरेपछि राजमार्गमा दुवैतर्फबाट सवारीसाधन चल्न थालेका छन्।
यसअघि सडक भासिएर यातायात अवरुद्ध भएपछि प्रशासनले उक्त खण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो। त्यसपछि वैकल्पिक डाइभर्सन निर्माण गरी साना तथा मझौला सवारीसाधनलाई मात्र आवागमनको व्यवस्था मिलाइएको थियो।
सडक मर्मतपछि यातायात सञ्चालनमा आए पनि जोखिम पूर्ण रूपमा हटिसकेको छैन। केही स्थानमा अझै मर्मत कार्य जारी रहेकाले सडकको अवस्था संवेदनशील रहेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सडकको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित गतिमा सवारी चलाउन तथा आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।
