पत्रकारलाई साइबर ब्युरोमा बोलाउनुको कारण प्रधानमन्त्री कार्यालयको चासो : प्रहरी
यसअघि प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा करिब साढे दुई घण्टा घेराउ गर्दै पत्रकारलाई पक्राउ गर्ने प्रयास गरेको थियो। सो क्रममा केही पत्रकारलाई नियन्त्रणमा लिएर पछि छाडिएको थियो।
उक्त घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए। तर नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको स्पष्ट पारेको हो।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत सूचना तथा सन्देशहरू प्रसारित भइरहेका छन्। यस्ता गतिविधिले प्रहरीको व्यावसायिक छवि, नागरिकको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने विषय प्रधानमन्त्री कार्यालयबाट उठाइएको थियो।
सोही विषयमा जानकारी लिने उद्देश्यले साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध सार्वजनिक भइरहेका सामग्रीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य सोधपुछ गरेको प्रहरीको भनाइ छ।
पत्रकारलाई बोलाउने कार्य नियमित प्रहरी कार्यसम्पादनको एउटा हिस्सा भएको उल्लेख गर्दै प्रहरीले यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा बुझ्न नहुने दाबी गरेको छ।
प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
नेपाल प्रहरीका अनुसार प्रेसलाई राज्यको चौथो अंगका रूपमा सम्मान गर्दै सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा आफू सधैँ सकारात्मक रहनेछ।
