सुर्खेतका ५ हजार गर्भवती महिलालाई डाक्टरको फोन, ‘हेलो गर्भवती आमा ?’
८ असोज, सुर्खेत । गर्भवती तथा सुत्केरीलाई घरबाटै स्वास्थ्य सेवा दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।
यो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरीलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोनमार्फत आवश्यक सल्लाह, सुझाव र परामर्श दिइने मेयर मोहनमाया ढकालले बताइन् ।
वीरेन्द्रनगर नगरपालिकामा हाल करिब ५ हजार गर्भवती रहेको अनुमान छ । उनीहरुले स्वास्थ्यअवस्था वारे जानकारी लिन डाक्टरहरुले नियमित रुपमा फोन गर्नेछन् ।
यो कार्यक्रमले पहिलो पटक आमा बन्न लागेका महिलालाई आत्मबल दिने मेयर ढकालको भनाइ छ । ‘पहिलो पटक गर्भवती हुँदा महिलाहरूमा धेरै दुविधा हुन्छ । मनमा धेरै प्रकारका खुल्दुली हुन्छन्’, उनले भनिन्, ‘दक्ष स्वास्थ्यकर्मीहरुले आमाहरूमा देखिएको खुल्दुली मेटाउनुहुनेछ । आमाहरूलाई आत्मबल बढाउने काम गर्नुहुनेछ ।’ उनले भनिन् ।
गर्भवती अवस्थामा गर्नुपर्ने नियमित स्वास्थ्य जाँचबाट छुट्न सक्ने सम्भावित महिलाको बच्चाको स्वास्थ्यमा समस्या नहोस् भन्ने हेतुले ‘हेलो गर्भवती आमा’ कार्यक्रम मार्फत उनीहरूलाई सम्पर्क गरिने मेयर ढकालको भनाइ छ ।
नगरपालिकाले यसअघि चार पटकसम्म गरिने गर्भवती जाँचमा आउने महिलालाई प्रोत्साहन स्वरूप १ हजार र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको थियो । तर, सरकारी नियम अनुसार हाल गर्भावस्थामा आठ पटक स्वास्थ्य जाँच गर्नुपर्नेमा अधिकांश गर्भवती नआएपछि नयाँ कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
यो कार्यक्रमबाट आर्थिक रूपमा विपन्न महिलाले आवश्यकताका आधारमा घरबाटै सेवा लिन सहज हुने अपेक्षा राखेको मेयर ढकालले बताइन् ।
गर्भवतीले नियमित गर्भजाँच, रगत जाँच, भिडियो एक्सरे, पिसाब तथा आवश्यक जाँच, खोप, पोषण तथा सरसफाइका बारेमा चिकित्सकले टेलिफोन मार्फत सल्लाह सुझाव दिनेछन् । गर्भवती अवस्थामा देखापर्ने खतराका चिह्नहरू, प्रसूतिपूर्वको तयारी र अन्य स्वास्थ्य सेवाहरू पनि अब उनीहरुलाई टेलिफोनबाटै दिइने मेयर ढकालले बताइन् ।
‘हेलो गर्भवती आमा’ कार्यक्रम सोमबार वीरेन्द्रनगर–२ स्थित शहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट सेवारम्भ गरिएको छ । यो सेवा अब वीरेन्द्रनगरका १६ वटै वडाका २० वटा स्वास्थ्य केन्द्रमा पनि सुरु हुनेछ ।
१६ वटै वडामा रहेका गर्भवतीको पूर्ण विवरण स्वास्थ्य स्वयंसेविकाको माध्यमबाट स्वास्थ्य केन्द्रहरूमा राखिएको छ । सोही विवरण हेरेर प्रत्येक हप्ता दक्ष स्वास्थ्यकर्मीले गर्भवतीहरुलाई टेलिफोन गर्नेछन् ।