थारू बस्तीमा ‘सखिया नाच’को रौनक
खजुरा (बाँके) । जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’को रौनकले भरिएको छ । दसैंअघि सुरु भएर दसैं सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो ।
दसैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् ।
थारू गाउँमा दसैं सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने टिटिहिरीयाका थारू अगुवा केवलसिंह थारूले बताए । दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंभरी नाचिने उनले सुनाए ।
उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो, त्यति रौनक आउँछ । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् ।
सखिया नाचमा विशेषतः थारू समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए ।
उनका अनुसार थारू पहिरनमा सजिएर नाच्ने युवतीहरूले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकरलगौतीजस्ता थारू संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्छन् । रासस