नेपाल–भारत टुरिजम मार्ट सम्पन्न
टुरिजमफेस
काठमाडौं । पहिलोपटक नेपाल–भारत पर्यटन मार्ट सम्पन्न भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावास काठमाडौंको आयोजनामा मार्ट सम्पन्न भएको हो । त्यस अवसरमा भारतको उत्तर प्रदेशको प्रयागराजमा सन् २०२५ मा आयोजना हुने महाकुम्भको प्रवर्द्धन र नेपाल भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बिटुबी सेसनहरू आयोजना गरिएको थियो । मार्टमा भारतका १३ र नेपालका एक सय २० जना टुर अपरेटरहरूको सहभागिता थियो । बिटुबी तथा समापन समारोहमा विशेषगरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूमा भारतीय पर्यटकको ठूलो योगदान रहेको बताए ।
सोही अवसरमा भारतीय दुतावासका चार्ज डे एफिएर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताए । उनले यसबाट भारत र नेपाल बीचको पर्यटन प्रर्वद्धन हुने अपेक्षा गरे।
यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत भएको बताए ।