भारतमा पाकिस्तानबाट चिठी समेत आउन नपाउने

टुरिजमफेस
काठमाडौं । अबदेखि भारतमा पाकिस्तानबाट चिठीसमेत आउन नपाउने भएको छ । भारतले पाकिस्तानबाट हुने सम्पूर्ण आयातमा प्रतिबन्ध लगाएसँगै यस्तो समस्या आएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयका अनुसार पाकिस्तानबाट हुने आयातमा अबदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएकोे छ । अप्रिल २२ मा जम्मू–कश्मिरको पहलगाममा आतंकवादी हमला भएसँगै दुई देशबीच सुरु भएको तनाव भारतको पछिल्लो निर्णयले थप बिग्रने विज्ञहरूले बताएका छन् ।
आतंकवादी हमलापछि भारतले सिन्धु जलसम्झौता निलम्बन गर्ने निर्णय गरेको छ भने जबाफमा पाकिस्तानले सिमला सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ । दुवै देशले एक अर्काका कुटनीतिक अधिकारीहरूलाई फिर्ता बोलाएका छन् । साथै दुवै देशले एक अर्काको आकाशमा हुने उडानमा प्रतिबन्ध लगाएका छन् । सीमा क्षेत्रमा फायरिङसमेत गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । दुई देशबीचको सम्बन्ध तनावग्रस्त बनेपछि संयुक्त राष्ट्रसंघले संयमता अपनाउन आग्रह गरेको छ ।