पुरुषपछि महिला क्रिकेटमा पनि फड्को मार्दै नेपाल, महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश (फोटो फिचरसहित)

टुरिजमफेस
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।
आइसिसी महिला टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको हो ।
सोमबार थाइल्यान्डमा भएको महत्वपूर्ण खेलमा नेपालले युएईमाथि ५ विकेटको जित निकालेपछि सुपर-३ को शीर्ष दुई स्थान पक्का गर्दै पहिलोपटक ग्लोबल क्वालिफायरमा पुगेको हो ।
अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
सोमबार युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ३० रन जोडिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। अलराउन्डर रुबिना क्षेत्रीले १८ बलमा जोडेको २३ रन जोड्दै नेपालको जीतको आधार खडा गरेकी थिइन् ।
त्यसअघि नेपालका लागि ओपनर सम्झना खड्काले २१ रन बनाइन्। पूजा महतोले १३ रनको योगदान गरेकी थिइन् ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा ११४ रन जोडेको थियो । युएईका लागि कप्तान तथा ओपनर इशा वजाले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३९ रन जोड्दा अर्की ओपनर तथा विकेटकिपर तीर्था सतिशले ३२ बलमा २१ रन बनाएकी थिइन । लाभान्या केनीले १२ रन र हीनाले २० रनको योगदान दिएकी थिइन् ।
बलिङमा नेपालकी मनिषा उपाध्यायले चार ओभरमा २० रन खर्चेर ४ विकेट लिएपछि युएईले ठूलो योगफल खडा गर्न सकेन । नेपालका लागि कविता कुँवरले दुई विकेट र राजमति ऐरीको नाममा एक विकेट लिइन् ।
अब सुपर-३ को अन्तिम खेलमा नेपाल र आयोजक थाइल्यान्डबीच मंगलबार खेल हुनेछ।