नेपाल-बङ्गलादेश पर्यटन सम्मेलन : ‘बङ्गालको खाडीदेखि हिमालयसम्म’ अभियान सुरु

टुरिजमफेस
काठमाडौं ।नेपालमा बङ्गलादेशी पर्यटक बढाउने लक्ष्यसहित पर्यटन बोर्डले बंगलादेशमै अभियान सञ्चालन गरेको छ । नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउँदै द्विपक्षीय सहकार्यलाई फराकिलो बनाउने लक्ष्यसहित ‘गन्तव्य नेपालः बङ्गालको खाडीदेखि हिमालयसम्म’ अभियान बंगलादेशबाटै सुरु गरिएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बङ्गलादेशको चट्टग्राममा भएको ‘नेपाल–बङ्गलादेश पर्यटन सम्मेलन’ मा दुई देशबीचको पर्यटन र आपसी सहकार्यलाई बलियो बनाएर लैजाने समझदारीसमेत बनेको छ ।
‘गन्तव्य नेपालः बङ्गालको खाडीदेखि हिमालयसम्म’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धको आधारशिला भएको उल्लेख गरे ।
उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औँल्याउँदै हिमालयको शिखरसँग बङ्गालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक रहेको बताए ।
उनले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेको कार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन पनि गरे ।
पर्यटन बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक रोहिणीप्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूको बारेमा प्रस्तुति दिएका थिए । उनले नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्याङ्कसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गरेका थिए । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारेपनि जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा लक्की ड्र मार्फत केही बङ्गलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि हवाई टिकटसमेत उपलब्ध गराइएको थियो ।