तीज गीत ‘उठौँ चेली हो’ बजारमा
टुरिजमफेस
गण्डकी । हरेक तीजमा नयाँनयाँ तीज गीत लिएर आउने गीतकार चन्द्रावती वाग्लेको यस वर्ष ‘उठौँ चेली हो’ बजारमा आएको छ ।
सामाजिक यथार्थताका विविधतालाई गीतका माध्यमबाट प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्षको गीतमा महिला हकहितका लागि कानुन बनेपनि महिला हिंसाको क्रम नरोकिएको भन्दै नारी आ–आफ्ना स्थानबाट उठ्नुपर्नेमा जोड दिएकी छिन् ।
पुरुष प्रधान समाजको अहिले पनि दबदबा कायमै रहेको उल्लेख गर्दै वाग्लेले गीतको सुरुमा नै भन्नुभएको छ,
“पुरुष प्रधान समाजको जाँतोमा ज्यान पेलियो ।
राखौँ हाम्रा कुरा पनि उठौँ चेली हो ।।”
यस्तै यथार्थता, पीडा, व्यथा र बेदनाले भरिएका विभिन्न १४ वटा टुक्कासहित ‘उठौँ चेली हो’ गीत सार्वजनिक भएको हो । यो गीतमा शब्द, स्वर, लय वाग्लेको आफ्नै रहेको छ । गीतमा इन्दु केसी, दामु चालिसे, टिकामाया चालिसे, शिव चालिसे, सूर्य जिसी, लक्ष्मी जिसीले अभिनय गरेका छन् ।
गीतको निर्देशन वसन्तप्रसाद चालिसेले गर्नुभएको हो भने व्यवस्थापनमा नवराज वराल, दिपकराज अधिकारी र दिपेन्द्र कार्कीले सघाएका छन् । त्यस्तै गीतका लागि आर्थिक सहयोग न्यूरोड महिला उत्थान मञ्च पोखरा–८ ले गरेको छ भने छायाङ्कन वासुदेव पोखरेलले गरेका छन्। अन्य व्यवस्थापन, निर्माण, सम्पादनलगायत काम मूनाल चलचित्र प्रालिले गरेको छ ।
वाग्लेले यसअघि २०७५ मा ‘आइन छोरी’, २०७६ मा ‘नरोए आमा’, ‘जागिरे नारीको पीडा भाग–१’ र ‘गरिन गुनासो’, २०७७ मा ‘जागिरे नारीको पीडा भाग–२’, ‘सहरको सुविधा र म’, ‘दर्जा बेरोजगारको’, २०७८ मा ‘आउ सङ्गी रमाइलो गरौँ बरिलै’, २०७९ मा ‘रमाइलो माइतैमा’, ‘जडिया पोइ’ र ‘शून्य छ जन्मेको घर बरिलै’ गीत बजारमा ल्याएकी थिइन् । ।
वाग्लेले २०८० मा ‘फेरि पनि आयो तीज मन दुखाउन’, ‘कृषि प्रधान मेरो देश, के छैन र हाम्रो नेपालमा’ ल्याउनुभएको थियो भने २०८१ मा ‘देश भक्ति तीज गीत’, ‘वालेन तीज गीत’ र ‘माइतीको झल्को’ ल्याउनुभएको थियो ।
वाग्लेका ‘हरिश्चन्द्र शोक काव्य २०७५’, ‘पलपलका भावना’ कविता सङ्ग्रह २०८०, ‘अक्षरको आगो’ मुक्तक सङ्ग्रह २०८१, ‘जिन्दगीको बाटो मोडियो तीज गीत सङ्ग्रह २०८१’ जस्ता कृति प्रकाशित छन् । पोखरा महानगरपालिकामा अधिकृत कर्मचारीका रूपमा सेवारत उहाँ कस्केली अधिकृत समाजको कार्यसमिति सदस्यसहित रही विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशिल हुनुहुन्छ ।