सौर्यबत्तीले झिलीमिली बन्यो भीमदत्तनगर

टुरिजमफेस
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व- पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो ।
नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व-पश्चिम राजमार्गमा एक सय १५ वटा सडकबत्ती जडान गरेको जानकारी दिए ।
पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको भासीबाट महेन्द्रनगर बजारसम्म एक सय १५ वटा सौर्यबत्ती जडान गरिएका र दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म जडान गर्ने उनले बताए ।
प्रवक्ता अवस्थीले भीमदत्तलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार पालिकाले १९ वटै वडामा सडक सौर्यबत्ती जडान गर्ने तयारी गरेको बताए । उक्त सौर्यबत्ती जडानका लागि रु ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
पालिकाले दोस्रो चरणमा रु २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडकबत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ । नागरिकको सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएकोे उनले बताए ।
एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लागानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इञ्जिनियर पवन लेखकले जानकारी दिए ।