समृद्धिका लागि कला, साहित्य र संस्कृतिको विकास अपरिहार्य : राष्ट्रपति पौडेल

टुरिजमफेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविलाई आज पुरस्कार वितरण गर्दै उनले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिको साझा थलो भएकाले यसको गरिमालाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताए । उनले प्राज्ञिक क्षेत्रमार्फत नेपालको पहिचानलाई विश्वमाझ चिनाउन प्रतिष्ठानको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राखे ।
“संसारको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने,“नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि प्रतिष्ठानको हो । त्यसैले प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुने विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको बताए । “साहित्य भाषाको कलात्मक अभिव्यक्ति हो । साहित्य र समाज एक अर्काका पूरक हुन् । साहित्य ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ”, उनको भनाइ थियो ।