आम उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

टुरिजमफेस
बाँके । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेको छ । यतिबेला पश्चिम नेपालका नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोक-चोकमा सजाएर राखिएको कर्णालीको जुम्ली स्याउले जो कोहीको मन तान्ने गरेको छ ।
नेपालगञ्जमा चार दशकदेखि कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका प्रेमलाल साहु तेलीले विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछि कर्णालीको स्याउको माग विभिन्न सहरमा बढ्दै गएको बताए । “पश्चिम नेपालको फलफूल बजारमा अहिले कर्णालीको स्याउको दबदबा छ, भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले कर्णालीको स्याउ मन पराउने गरेका छन्”, थोक व्यापारी साहुले भने, “सुर्खेत नेपालगञ्ज, धनगढी बुटवललगायतका सहरमा हिजोआज जुम्लाको स्याउ खोज्दै ग्राहक आउने गरेका छन् ।”
नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहेका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरहरुमा स्याउ बिक्री वितरण गर्ने गरेका छन् । कर्णाली प्रदेशका बजारमा भने सुर्खेतबाट वितरण हुने गरेको उनको भनाइ छ । कर्णालीको स्याउ विदेशी स्याउको तुलनमा स्वादिलो र सस्तो भएका कारण पनि आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।
अहिले ग्रेडिङ भएको स्याउको थोक मूल्य प्रतिकिलो अधिकतम रु १०० रहेको छ । ग्रेडिङ नभएको स्याउ न्यूनतम प्रतिकिलो रु ६० मा नेपालगञ्जबाट बिक्री हुने गरेको थोक विक्रेता प्रेमलालले जानकारी दिए । उनका अनुसार स्याउको आकार र गुणस्तर अनुसाररु ६० देखि सयसम्ममा खुद्रा विक्रेताले खरिद गरेर पश्चिम नेपालका सहरहरुमा बिक्री वितरण गरिरहेका छन् । नेपालगञ्जमा फलफूलको थोक विक्रेता करिब दुई दर्जन रहेका छन् ।
विदेशी स्याउ विस्थापित
अहिले बजारमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गरेको छ । सडक विस्तार भएसँगै आकर्षक, स्वादिलो अर्गानिक जुम्लाको स्याउ बजारमा आएपछि यसको माग बढ्दै गएको हो । कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध रहेको छ । नेपालगञ्जमा कर्णालीको स्याउको थोक बिक्रेता प्रेमलाल साहुले साउन, भदौ र असोज गरी तीन महिना पश्चिम नेपालका सहरमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गर्ने गरेको बताए ।
विगतमा हवाईजहाजमार्फत नेपालगञ्ज ल्याएर कर्णालीको स्याउ बिक्री गरेका साहुले अहिले कर्णालीमा सडक सञ्जाल पुगेपछि स्याउको ढुवानीमा सहज भएका कारण बजार विस्तार हुँदै गएको उल्लेख गरे । “पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्दथ्यो, हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो”, उनले भने, “अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ ।”
विगतका वर्षमा भारतीय स्याउले भरिने फलफूल बजारमा अहिले कर्णालीको अर्गानिक स्याउ छ । नेपालगञ्ज बजारमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए ।
उपभोक्ता र व्यापारी दुवै लाभान्वित
नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल मण्डीमा कर्णालीको स्याउ आउने गरेको छ । मण्डीबाट खुद्रा विक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी नेपालगञ्जको त्रिवेणीमोडस्थित महाराजा फ्रुटका सञ्चालक कमल सुनारले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँ पनि लैजाने गरेको बताए ।
कर्णालीको स्याउले नेपालगञ्जमा राम्रो बजार पाएसँगै त्यहाँका किसानलाई पनि ठूलो फाइदा पुगेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विदेशी स्याउ विस्थापित हुनुले कर्णालीको स्याउको बजार विस्तार भएको मात्रै नभई यसले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याएको बताए । कर्णालीको स्याउ ग्रेडिङ, गुणस्तर कायम र ढुवानीमा सहजताको लागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विगतमा ठेला तथा फलफूल पसलमा खुद्रा व्यवसायीले कर्णालीको स्याउ बिक्री वितरण गर्दै आएकामा केही वर्षयता नेपालगञ्जमा कर्णालीका महिलाले स्याउ बिक्री गर्ने गरेका छन् । नेपालगञ्जका धम्बोझी, कारकाँदोलगायतका चोक चौराहमा लहरै बसेर कर्णालीका महिलाले स्याउ बिक्री वितरण गरिरहेका छन् । नेपालगञ्जमा अस्थायी रुपमा बस्दै आएका महिला र उच्च शिक्षा अध्ययनको लागि आएका विद्यार्थीले यस याममा स्याउ बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
कर्णालीको स्याउ चाडबाडमा कोसेली
कर्णालीको जैविक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि चाडवाडमा कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातित भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगञ्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ ।