पोखराको पर्यटन क्षेत्रका समस्याबारे अर्थमन्त्री खनाललाई ध्यानाकर्षण

पोखराको लेकसाइडमा साइकल चलाएर गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक। तस्बिरः रासस
टुरिजमफेस
गण्डकी । अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेर पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा भेट गरी अर्थमन्त्री खनाललाई पर्यटन क्षेत्रको पुनःउत्थानलगायत विषयमा ध्यानाकर्षण गराइएको हो । उक्त अवसरमा मन्त्री खनाललाई विभिन्न मागसहित ध्यानाकर्षणपत्र पनि बुझाइएको थियो ।
भेटमा परिषद्का पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने सहभागी थिए ।
पर्यटन व्यवसायको मुख्य याम सुरू हुन लाग्दा भएको ‘जेनजी’ प्रदर्शन र त्यस क्रममा भएका आगजनी तथा तोडफोडबाट पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । आन्दोलनका क्रममा व्यावसायिक प्रतिष्ठानमाथि गरिएको तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न र पीडित व्यवसायीलाई यथाशिघ्र क्षतिपूर्तिको व्यवस्था गरिदिन माग गरिएको छ ।
उक्त घटनापछि पर्यटकहरूले आफ्ना भ्रमण प्याकेजकहरू तथा बुकिङहरू रद्द गरिरहेको भन्दै यस विषम परिस्थितिमा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
पोखराको लेकसाइडमा साइकल चलाएर गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक। तस्बिरः रासस