अहिलेसम्मकै कान्छी छिरिङ डिकी लामाले गरिन् मनास्लु आरोहण
टुरिजमफेस
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन् ।
लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसकेकी छन् ।
नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिइन्। सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मंगलवार बिहान १०ः५० बजे मनास्लुको शिखर चुमेकी उनको भनाइ छ ।
छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् ।
उनीसँगै मनास्लु आरोहण गर्ने सामा गाउँका चार जना भएका छन् । यसअघि सामा गाउँका डिकील्हामु, मिंकार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।
