दसैँमा पनि उखुको भुक्तानी नपाउँदा निराश छन् किसान
टुरिजमफेस
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ दैलोमै आएको छ । यतिबेला पेसा–व्यवसाय, रोजगारी र अध्ययनका लागि देशविदेशमा छरिएका आफ्नो थातथलो फर्किएका छन् ।
दसैँमा जागिर गर्नेले तलब बुझेका छन् । व्यापार व्यवसाय गर्नेले नाफा कमाएका छन्, बोनस पाएका छन् । घरपरिवारमा रमाइलो छ । दसैँका लागि बजार गर्नेको लर्को छ । तर, गोलबजार नगरपालिका-२ सिरहाका उखु किसान रामस्वरुप महतोलाई भने दसैँ आएको अनुभूति नै भएको छैन । किन भने दसैँ मान्ने पैसा छैन ।
उखुखेतीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आउनुभएका महतोले गत वर्षकै भुक्तानी पाएका छैनन् । गत वर्षको भुक्तानी माग्न जाँदा हिमालय सुगर मिलले आजआज भोलीभोली भन्दै टार्दै आएको छ । मिलले रु एक–डेढ लाख पैसा अहिलेसम्म पनि दिएको छैन् ।
उनले भने, “दशैँ आएको छ, अहिले त दशैँ मान्ने पैसा पनि छैन, छोराछोरीलाई नयाँ कपडा किनिदिने उपाय पनि छैन ।” विगत लामो समयदेखि उखुखेतीबाट आफ्नो जिविकोपार्जन गर्दै आएका महतोलाई उखुको भुक्तानी नपाउँदा परिवार पाल्न पनि हम्मेहम्मे परेको छ । उखु किसानले सरकारले अनुदानबापतको रकम दसैं अगाडि नै पाउनु पर्ने माग गरे पनि पूरा हुन सकेन ।
मोरङदेखि कञ्चनपुरसम्म १३ जिल्लाका करिब ६०० उखु किसानले भदौमा एक हप्तासम्म (भदौ ८ देखि १५ गतेसम्म) माइतीघरमा आन्दोलन गरेर फर्किएका थिए । सोही क्रममा सरकारले पनि किसान आन्दोलनका क्रममा दसैँ अगाडि नै अनुदान रकम प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, उखु किसानको आन्दोलन लगत्तै सुरु भएको जेनसी आन्दोलनपछि सरकार परिवर्तन भयो ।
राज्यले किसानलाई प्रोत्साहन गर्ने ठाउँमा पाउनुपर्ने अनुदान पनि कटौती गरेको उनको भनाइ छ । उनका अनुसार सरकारले समयमा मलखात, बीउ र सिँचाइ पनि दिन सकेको छैन । सर्लाही हरिवन नगरपालिका वडा नं ११ का शेख स्तिहादले १२ बिघा जमिनमा उखुखेती गर्दै आएका छन्, तर उनले उखु मिलबाट पाउनुपर्ने गत वर्षकै भक्तानी पाएका छैनन्न ।
उनले भने, “हामीले उखु मिललाई उखु मात्रै सस्तो मुख्यमा दिन्छौँ, तर उसले उखुबाटै धेरै प्रकार बनाउँछ, धेरै प्रकारको मूल्य मिलले हामीलाई दिँदैन, यसरी पनि किसान मर्कामा परेका छन् ।”
सर्लाहीस्थित भङ्गाहा–४ का उखु किसान रामकुमार महतोको पनि उस्तै समस्या छ । एकातिर पर्याप्त मल र सिँचाइ नपाउनु, अर्कोतिर उखुको उचित मूल्य पनि नपाउने, भुक्तानी पनि नपाउने र त्यति मात्रै होइन उखुखेतीलाई मुख्य पेशा बनाउने आम उखु किसानको दसैँ, तिहार र छठलगायतका पर्व खल्लो भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा सरकारले तोकेको प्रतिक्विन्टल रु ७० का दरले अनुदान भुक्तानी पाउनुपर्ने उखु किसानको मुख्य माग छ ।
