काठमाडौंको आकाशमा केन्द्रित भयो पानी पार्ने बादल

टुरिजमफेस
काठमाडौं । शुक्रवार रातिदेखि सुरु भएको वर्षा यतिखेर देशका अधिकांश स्थानमा पुगेको छ । तर पानी पर्ने बादल भने काठमाडौंमा केन्द्रित भएको छ । यसको अर्थ काठमाडौं उपत्यकामा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिलेसम्म काठमाडौंमा मध्यम खाले वर्षा भइरहेको छ । पछिल्लो २४ घन्टामा सर्वाधिक वर्षा भने कैलालीको गर्भ दरबारमा ८५.८ मिलिमिटर भएको विभागले जनाएको छ ।
विभागकी मौसमविद् प्रतिभा मानन्धरले भारत हुँदै लुम्बिनी, गण्डकी प्रदेशतिरबाट पानी पार्ने बादल काठमाडौंको आकाशमा केन्द्रित भइरहेको बताइन् । उनले काठमाडौंमा अति भारी वर्षाको भने प्रक्षेपण नगरिएकोे बताइन् । २४ घन्टामा २०० मिलिमिटरभन्दा बढी पानी परेमा अति भारी वर्षा भएको मानिन्छ ।
विभागले कोशी, मधेस, बागमती र गण्डकीका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।
यसैबीच विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूले बाढी पहिरोको जोखिम भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र पर्यटकहरूलाई हिमाली जिल्लाको यात्रामा नजान सूचना जारी गरेका छन् । काठमाडौंबाट पनि नागढुंगा बाहिर नजान भनिएको छ । वर्षाले विभिन्न स्थानमा सडकलगायत पूर्वाधारको क्षति पुगिरहेको प्रहरीले जनाएको छ ।