विश्वासपात्रले साथ छोड्दै गएपछि ओली पुनः अध्यक्ष बन्लान् ?
टुरिजमफेस
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको अन्तिम समयमा आएर केपी शर्मा ओलीको विश्वासपात्र भनेर चिनिएका व्यक्तिहरू धमाधम असन्तुष्ट हुन थालेपछि के यसपटक ओली पुनः अध्यक्ष बन्लान् भन्ने प्रश्न उब्जिएको छ ।
निर्वाचनका लागि ओलीले तयार पारेको सूचीमा उनका विश्वासपात्र भनेर चिनिएका कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, राजेन्द्र गौतम, सूर्य थापालगायतका नेताहरू पदाधिकारीमा नपरेपछि ओली इतर समूह विजयी हुने त होइन भन्ने आशंका गरिएको छ ।
ओलीलाई हालका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौती दिएका छन् । पोखरेल समूह छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको छ । यति मात्र होइन यसपटक महासचिवको दावेदारी गरिरहेका प्रदीप ज्ञवालीलाई ओलीले उपाध्यक्षका लागि प्रतिस्पर्धाका लागि सूचीमा राखेपछि असन्तुष्टि जनाउँदै सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।
ओलीकै अर्का विश्वासपात्र अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । ओलीको टिममा नअटाएपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
