बालेन शाह रास्वपाको शीर्ष नेतृत्वमा, केन्द्रीय समितिमा व्यापक पुनर्संरचना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको भूमिकामा पुगेका छन्। पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा समेट्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, आइतबार बसेका दुई छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट विवेकशील साझा र बालेन पक्षबाट आएका गरी ३३ जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ। यससँगै रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
केन्द्रीय समिति बैठकले पदाधिकारी संरचनामा पनि परिवर्तन गर्ने निर्णय गरेको छ। विधानअनुसार उपसभापतिमा एक महिला सहित तीन जना रहने व्यवस्था भए पनि हाल उक्त प्रावधान कार्यान्वयन हुन सकेको छैन। हाल उपसभापति रहेका कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्लेमध्ये कोही पनि महिला नभएकाले विधान संशोधन वा संरचना पुनःव्यवस्थापनको आवश्यकता देखिएको छ। उज्यालो नेपालसँग एकता हुँदा कुलमान घिसिङ उपसभापति पदसहित पार्टीमा समाहित भएका थिए।
त्यस्तै, विधानमा एक जना मात्र महामन्त्री रहने व्यवस्था भए पनि केन्द्रीय समितिले महामन्त्री पदमा एक जना थप्ने निर्णय गरेको छ। हाल कविन्द्र बुर्लाकोटी महामन्त्री छन्।
सहमहामन्त्रीतर्फ एक महिला सहित तीन जनाको व्यवस्था छ। सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि हाल वीपीनकुमार आचार्य मात्र सहमहामन्त्री छन्। बैठकले एक सहमहामन्त्री थप्ने निर्णय पनि गरेको छ।
यसैगरी, फरक लिङ्ग समेट्ने गरी सहप्रवक्ता एक जना थप्ने निर्णय गरिएको छ। हाल प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ताको जिम्मेवारीमा छन्।
रास्वपाको विधान अनुसार पार्टीमा कुल २५ जना पदाधिकारी रहने व्यवस्था छ। पछिल्ला निर्णयहरूले पार्टी नेतृत्वलाई अझ समावेशी र संगठनात्मक रूपमा मजबुत बनाउने अपेक्षा गरिएको छ।
