डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
लमजुङ — लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनका लागि बन्द गरिएको छ। लमजुङको बेँसीसहर नगरपालिका–१ उदीपुरस्थित पहिरो प्रभावित सडकखण्डमा कालोपत्रे कार्य गर्न माघ १४ गते साँझ ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।
केही वर्षअघि पहिरोका कारण क्षति पुगेको सडक मर्मत तथा कालोपत्रे गर्न डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाको अनुरोधअनुसार सडक बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिए।
सडक बन्दको अवधिमा सवारीसाधनलाई नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेक क्षेत्रबाट डाइभर्ट गरी आवागमन गराइएको प्रशासनले जनाएको छ।
यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लामा सवारीसाधन सञ्चालन हुँदै आएको छ। साथै बेँसीसहर र हिमाली जिल्ला मनाङका स्थानीयको आवतजावतको मुख्य मार्गसमेत यही सडक हो।
उदीपुर क्षेत्रमा २०७८ असार १ र साउन ११ मा गएको पहिरोले सडक बगाएको थियो। पहिरो रोकथाम तथा सडक पुनर्निर्माणका लागि सङ्घीय सरकारले ११ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटअन्तर्गत करिब ४ सय मिटर सडक कालोपत्रे गरिँदैछ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामसम्बन्धी काम हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ र कालोपत्रे कार्य तीव्र रूपमा अघि बढाइएको छ।
