काठमाडौं । लामो समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको प्रभाव रहँदै आएको डडेलधुरा निर्वाचन क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय हासिल गरेको छ ।
रास्वपाका उम्मेदवार ताराप्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा महरले १२ हजार १२१ मतमा सीमित भएका छन्।
२०४८ सालदेखि लगातार यो क्षेत्रमा कांग्रेसले जित हासिल गर्दै आएको थियो। सात पटकसम्म यस क्षेत्रबाट कांग्रेसका तर्फबाट देउवा नै उम्मेदवार बनेर विजयी हुँदै आएका थिए।
यसपटक भने उक्त राजनीतिक परम्परा तोड्दै जोशीले विजय हासिल गरेका हुन्। जोशीको राजनीतिक पृष्ठभूमि भने एमालेसँग जोडिएको छ। उनी पछि नेकपा एकीकृत समाजवादीमा पनि आबद्ध भएका थिए।
२०७९ सालको निर्वाचनमा जोशी प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। त्यसपछि उनले प्रदेशसभा पदबाट राजीनामा दिँदै यसपटक डडेलधुराबाट रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए।