पर्यटन संकटमा: शुक्लाफाँटाका प्राकृतिक ताल पुरिँदै, आकर्षण घट्ने चिन्ता
महेन्द्रनगर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका प्राकृतिक तालहरू संरक्षण अभावका कारण क्रमशः पुरिँदै जाँदा पर्यटन क्षेत्र नै प्रभावित हुने चिन्ता बढेको छ।
विश्वमै दुर्लभ बाह्रसिंगा, पाटे बाघ र चराचुरुङ्गी अवलोकनका लागि चर्चित शुक्लाफाँटामा रहेका रानीताल, कालीकिच ताल र शिकारी ताल जलकुम्भीले ढाकिँदै जाँदा पर्यटक आकर्षण घट्ने जोखिम देखिएको हो। प्राकृतिक सौन्दर्य र वन्यजन्तुको आवासका रूपमा रहेका यी तालहरू संरक्षण नहुँदा निकुञ्जको पर्यटकीय महत्त्वमा प्रत्यक्ष असर पर्ने सरोकारवालाहरूको भनाइ छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले ताल संरक्षण र व्यवस्थापन पर्यटन प्रवर्द्धनसँगै वन्यजन्तुको जीवन चक्रका लागि अत्यावश्यक रहेको बताए। उनका अनुसार गर्मीयाममा वन्यजन्तुको प्यास मेटाउन सोलार प्रणालीमार्फत कृत्रिम तलाउमा पानी भर्ने व्यवस्था गरिएको भए पनि प्राकृतिक तालहरू संरक्षण गर्न पर्याप्त बजेट उपलब्ध हुन सकेको छैन।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्राकृतिक र कृत्रिम गरी करिब १२० तालतलैया रहेका छन्। तर पछिल्लो समय बजेट कटौती हुँदा ताल सरसफाइ र घाँसे मैदान व्यवस्थापनमा समस्या देखिएको छ। गत वर्ष दुई करोड रुपैयाँ रहेको पुँजीगत बजेट चालु आर्थिक वर्षमा घटेर ३५ लाख रुपैयाँमा सीमित भएपछि व्यवस्थापन कार्य प्रभावित भएको हो।
निकुञ्जभित्र फैलिएको ५५ वर्गकिलोमिटर क्षेत्रफलको विशाल घाँसे मैदान नेपालकै ठूलो मानिन्छ, जसले पर्यटकलाई वन्यजन्तु अवलोकनका लागि आकर्षित गर्दै आएको छ। तर ५ हजार ४०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने अवस्थामा यस वर्ष केवल ५० हेक्टरमा मात्रै काम हुन सकेको निकुञ्ज प्रशासनले जनाएको छ।
शुक्लाफाँटा विश्वमै दुर्लभ करिब २ हजार ४०० भन्दा बढी बाह्रसिंगा, ४३ वटा पाटे बाघ र ४५० भन्दा बढी चराचुरुङ्गी प्रजातिको आवासस्थल भएकाले यहाँको प्राकृतिक ताल र घाँसे मैदान संरक्षण पर्यटन विकासको आधार मानिन्छ। संरक्षण अभावले प्राकृतिक संरचना नष्ट हुँदै जाँदा दीर्घकालीन रूपमा पर्यटक आगमन घट्ने र स्थानीय पर्यटन अर्थतन्त्रमा असर पर्ने चिन्ता बढ्दै गएको छ।
विशेषज्ञहरूका अनुसार प्राकृतिक ताल संरक्षण, घाँसे मैदान व्यवस्थापन र पर्यटकीय पूर्वाधार सुधारमा ध्यान नदिइए शुक्लाफाँटाको अन्तर्राष्ट्रिय पर्यटकीय पहिचान कमजोर हुन सक्छ। त्यसैले ताल संरक्षणलाई पर्यटन विकाससँग जोडेर दीर्घकालीन योजना आवश्यक देखिएको छ।
