काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गतको पर्वतीय उद्धार तालिम टोलीले चुलु फार इस्ट हिमाल सफलतापूर्वक आरोहण गरेको छ। ६ हजार ३८ मिटर उचाइ रहेको उक्त हिमाल सशस्त्र प्रहरीको उच्च भूभाग खोज तथा उद्धार तालिममा सहभागी प्रशिक्षक र प्रशिक्षार्थीहरूको टोलीले आरोहण गरेको हो।
सशस्त्र प्रहरीका अनुसार टोलीको नेतृत्व डीएसपी बाबुराम थापाले गरेका थिए। १८ जना प्रशिक्षार्थी सहभागी उक्त अभियानमा दुई जना शेर्पाले सहयोग गरेका थिए।
अन्नपूर्ण हिमश्रृंखलाअन्तर्गत पर्ने यो हिमाल मनाङ जिल्लामा अवस्थित छ। टोली वैशाख २७ गते ङिस्याङ गाउँपालिकाबाट हिमाल आरोहण अभियानका लागि प्रस्थान गरेको थियो।
सशस्त्र प्रहरीले पर्वतीय उद्धार क्षमता अभिवृद्धि गर्न नियमित रूपमा हिमाली क्षेत्रमा तालिम सञ्चालन गर्दै आएको छ। चुलु फार इस्टको सफल आरोहणलाई उच्च हिमाली उद्धार तथा विपद् व्यवस्थापन तयारीको अभ्यासका रूपमा पनि हेरिएको छ।