स्मार्ट सेल सम्पत्ति लिलामी प्रकरणमा मेगा बैंकका सिइओ पक्राउ
काठमाडौं । स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई नियन्त्रणमा लिएको हो। सिआइबीका अनुसार पाण्डे लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेका कारण लिलामी प्रक्रियामा उनको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार मोबाइल बन्द गरेर बाहिरिन खोजिरहेका बेला सिन्धुलीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई कमलामाई नगरपालिका–६ स्थित मदनभण्डारी राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
स्मार्ट सेलको सम्पत्ति बिक्रीसम्बन्धी विवादित प्रक्रिया नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते सार्वजनिक गरेको लिलामी सूचनासँग जोडिएको छ। उक्त सूचनामा दूरसञ्चार उपकरण जडान भएका घरधनीलाई बुझाउन बाँकी घरबहाल तथा विद्युत् महसुलसमेत जोडेर ४० करोड रुपैयाँ अतिरिक्त रकम कबोल गर्नुपर्ने व्यवस्था राखिएको थियो।
तर, बोलपत्रमार्फत उठाइएको रकम सम्बन्धित घरधनी र विद्युत् महसुलमा प्रयोग नगरिएको भन्दै बैंकमाथि ठगी तथा आपराधिक विश्वासघातको आरोप लागेको छ। यस प्रकरणमा यसअघि नै प्रहरीले स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई पक्राउ गरिसकेको छ।
स्मार्ट सेलले २०७० साल वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन अनुमति पाएको थियो। तर कम्पनीले समयमै अनुमतिपत्र नवीकरण नगरेपछि कानुनी व्यवस्था अनुसार अनुमति स्वतः खारेज भएको थियो। त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली–२०७९ अनुसार कम्पनीका सम्पूर्ण पूर्वाधार, प्रणाली तथा सम्पत्ति प्राधिकरणको नियन्त्रणमा गएका थिए। प्रहरीको आरोप अनुसार प्राधिकरणको नियन्त्रणमा रहेको त्यही सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी स्वामित्वमाथि असर पुर्याउने प्रयास गरिएको हो।
