खोटाङका गाउँहरूमा वर्षेनि बढ्दै जोखिम र विस्थापन
Tourism Face Banner News, NEWS 0
खोटाङ। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा लामो समयदेखि स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनाउँदै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको यो पहिरो अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा प्रत्येक वर्ष वर्षायाममा थप क्षति व्यहोर्नुपरेको छ।
बुँवाखोलाको आसपासबाट सुरु भएको पहिरोले हालसम्म दर्जनौँ घर, सयौँ रोपनी उर्वर खेतीयोग्य जमिन तथा पुराना पैदलमार्ग बगाइसकेको छ। वर्षा बढेसँगै पहिरोले खोलाको बहावसमेत अवरुद्ध गर्ने भएकाले तल्लो भेगका बस्ती थप जोखिममा पर्ने गरेका छन्।
करिब एक किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार आफ्नो पुर्ख्यौली थलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सर्न बाध्य भएका छन्। पहिरोभन्दा करिब २०० मिटर माथि रहेको विजय आधारभूत विद्यालय पनि जोखिमको घेरामा रहेको विद्यालय प्रशासनले जनाएको छ।
वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटरसम्म फैलिसकेको छ। यसको प्रभाव वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायतका बस्तीमा देखिएको छ। स्थानीय तहको सीमित स्रोतसाधनले यस्तो ठूलो प्राकृतिक जोखिम नियन्त्रण गर्न नसकिने भएकाले संघीय र प्रदेश सरकारबाट दीर्घकालीन संरक्षण तथा पहिरो नियन्त्रण योजना तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
गाउँपालिकाका अनुसार बोपुङ मात्र होइन, अन्य वडाहरू पनि पहिरोको उच्च जोखिममा छन्। देविस्थान क्षेत्रका धानखेतीमा समेत प्रत्येक वर्ष पहिरो र बाढीका कारण उल्लेख्य क्षति हुँदै आएको छ, जसले स्थानीय कृषि उत्पादन र जीविकोपार्जनमा प्रत्यक्ष असर पारिरहेको छ।
