पर्यटन मन्त्रालयद्वारा विभिन्न निकायमा २४ जनाको नियुक्ति
Tourism Face Banner News, NEWS 0
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थामा रिक्त रहेका पदहरूमा एकैपटक २४ जनालाई नियुक्त गरेको छ। मन्त्रालयका अनुसार असार १७ र १८ गतेको मन्त्रिस्तरीय निर्णयमार्फत यी नियुक्तिहरू गरिएको हो।
पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिवमा तीर्थप्रसाद श्रेष्ठ नियुक्त भएका छन् भने मीना कुमारी श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाएकी छन्। कोषका सदस्यमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त भएका छन्।
यस्तै, नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन्। समितिका सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन्। समितिका सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल रहेका छन्।
त्यसैगरी, पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन सदस्य नियुक्त भएका छन्।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्रबहादुर मल्ललाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले लामो समयदेखि रिक्त रहेका विभिन्न सांस्कृतिक तथा सम्पदा संरक्षणसम्बन्धी निकायमा नयाँ नेतृत्व तथा सदस्य चयनसँगै ती संस्थाको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाएको छ।
