वनको खेर जाने स्रोतबाट महिला उद्यम, नवलपुरमा हस्तकलाले बढायो आम्दानी र पर्यटन आकर्षण
Tourism Face Banner News, NEWS 0
नवलपुर । नवलपुरका महिलाले सामुदायिक वनमा खेर जाने वन पैदावारलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै हस्तकला र घरेलु उद्योगमार्फत आयआर्जनका नयाँ अवसर सिर्जना गरेका छन्। यस पहलले स्थानीय रोजगारीसँगै ग्रामीण पर्यटनलाई पनि नयाँ आकर्षण थप्न थालेको छ।
देवचुली नगरपालिका–स्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको प्रयोगबाट हस्तकलाका विविध सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान अघि बढाएका हुन्। पहिले वनमा बेवारिसे झैँ खेर जाने थाकल अहिले उनीहरूको आयको प्रमुख स्रोत बनेको छ।
महिलाहरूले थाकलबाट झोला, टोपी, टेबल म्याट, टिम्याट, फूलका गमला, सजावटी सामग्रीलगायत आकर्षक हस्तकलाका वस्तु उत्पादन गरिरहेका छन् भने अम्रिसोबाट तयार गरिएका कुचो स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री हुँदै आएका छन्।
नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिमबाट सुरु भएको यात्रा अहिले विविध हस्तकला सामग्री र अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको छ। हाल समूहमा करिब २० जना महिला सक्रिय रूपमा संलग्न छन्।
उनले सामुदायिक वनबाट सङ्कलन गरिएको थाकल प्रशोधन गरी उत्पादन गरिने र काम गर्ने सदस्यलाई पारिश्रमिक उपलब्ध गराइने जानकारी दिइन्। उत्पादनबाट भएको बचत पुनः उद्यम विस्तारमा लगानी गर्ने व्यवस्था गरिएको छ।
समूहमा आबद्ध खगिसरा लुङ्गेलीका अनुसार घरायसी काम सकेपछि खाली समयमा हस्तकला सामग्री र कुचो उत्पादन गर्ने गरेकी छन्। यसबाट प्राप्त आम्दानीले व्यक्तिगत खर्च धान्न र परिवारको आर्थिक अवस्थालाई टेवा पुर्याएको उनले बताइन्।
हालै कुचो बनाउने तालिम लिएकी कुमारी श्रेष्ठले अन्य महिलाको सफलताबाट प्रेरित भएर आफू पनि उद्यममा जोडिएको बताइन्। सीप सिकेपछि आफ्नै श्रमबाट आम्दानी गर्न सकिने विश्वास बढेको उनको अनुभव छ।
समूहले उत्पादन गरेका सामग्री होमस्टे, पर्यटकीय गन्तव्य तथा काठमाडौंका बजारसम्म पुगिरहेका छन्। अध्यक्ष रायमाझीका अनुसार अहिले उत्पादनका लागि ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्था छैन, बरु विभिन्न संस्था र ग्राहक स्वयं अर्डर गर्न आउने गरेका छन्।
नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङले हस्तकला उत्पादनसँगै अम्रिसोका कुचोको व्यावसायिक उत्पादन पनि विस्तार भइरहेको बताइन्। आफ्नै वनमा पर्याप्त कच्चा पदार्थ नहुँदा अन्य सामुदायिक वनबाट अम्रिसो ल्याएर उत्पादनलाई निरन्तरता दिइएको उनले जानकारी दिइन्।
उनका अनुसार काठमाडौंबाट हालै एकैपटक एक सय थान हस्तकला सामग्रीको अर्डर आएको छ। बढ्दो मागले महिलामा थप उत्साह बढाएको छ। उद्यमलाई संस्थागत बनाउन समूह दर्ता गरिएको छ भने हालै थप २० जना महिलालाई सीपमूलक तालिम पनि प्रदान गरिएको छ। उक्त तालिममा डिभिजन वन कार्यालय नवलपुरले सहयोग गरेको हो।
डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीका अनुसार वनमा खेर जाने प्राकृतिक स्रोतको दिगो उपयोगमार्फत सञ्चालन गरिएको यस्तो उद्यमले महिला सशक्तीकरण, स्थानीय रोजगारी, वातावरण संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याइरहेको छ। सामुदायिक वनलाई आर्थिक गतिविधिसँग जोडेर ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिइँदै आएको उनले बताए।
