पर्यटन प्रवर्द्धनलाई तीव्रता दिने सरकारको प्रतिबद्धता, होटल उद्योगसँग सहकार्य बढाइने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पर्यटन उद्योगको दीर्घकालीन विकासमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले होटल व्यवसायीका गुनासा र चुनौतीहरू समाधानतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे। पर्यटन क्षेत्रको विस्तारमा निजी क्षेत्रलाई सरकारको भरोसायोग्य साझेदारका रूपमा अघि बढाउन चाहेको उनको भनाइ थियो।
उनले होटल व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत पर्यटन पूर्वाधार र सेवाको विकासका सम्भावना अध्ययन गर्न आग्रह गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल सहभागी रहेको छलफलमा हानका प्रतिनिधिहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए। तर हाल करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै पर्यटक आगमन वृद्धि भए रोजगारी सिर्जना उल्लेखनीय रूपमा बढ्ने र युवाको वैदेशिक पलायनसमेत कम गर्न सहयोग पुग्ने धारणा राखे।
व्यवसायीहरूले नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) तथा सीमापार पर्यटन (क्रस–बोर्डर टुरिज्म) को ठूलो सम्भावना रहेको औँल्याउँदै त्यसका लागि आवश्यक नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।
उनीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि लागू गरिएको संक्षिप्त वातावरणीय मूल्यांकनको सीमा ५० शय्यासम्म विस्तार गर्न तथा होटल व्यवसायसँग सम्बन्धित कानुनी प्रावधानहरूको पुनरावलोकन गर्न माग गरे।
यसैगरी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ अन्तर्गत ट्रेडमार्क प्रयोगमा लाग्ने रोयल्टी सम्बन्धी व्यवस्थालाई थप लचिलो बनाउन पनि व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराए।
हानले डेस्टिनेसन वेडिङका लागि आवश्यक गरगहनाको आयात प्रक्रिया सहज बनाउन तथा आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि केवल फोटो–भिडियोमा सीमित नरही विस्तृत कथा (फुल स्टोरीटेलिङ) आधारित प्रचार सामग्री र विशेषज्ञहरूको व्यवस्था गर्नुपर्ने सुझावसमेत दिएको छ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।
