काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सात वटा मुद्दा अदालतमा दायर गर्दै १ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार विभिन्न आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा १२१ जनाविरुद्ध अभियोजन गरिएको छ। ती मुद्दामा प्रतिवादीहरूसँग १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो असुलउपर गर्न माग गरिएको छ।
विभागमा प्राप्त हुने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीसम्बन्धी सूचनामाथि प्रारम्भिक परीक्षणपछि अनुसन्धान अघि बढाइने व्यवस्था रहेको छ। आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी विस्तृत छानबिन प्रक्रिया सञ्चालन गरिन्छ।
अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा चार अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, अनुसन्धान समन्वय शाखा, प्रशासन तथा योजना शाखा तथा प्रहरी शाखा सञ्चालनमा रहेका छन्।
विभागले विशेषगरी राजस्व चुहावट, भन्सार छली, अन्तःशुल्क अनियमितता, अवैध व्यापार तथा मनी लाउन्डरिङसँग सम्बन्धित कसुरको अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभागले अनुसन्धान र तहकिकातको दायरा तथा गति दुवै विस्तार गरेको जनाएको छ।
विभागका अनुसार अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत खोज्ने, शंकास्पद वित्तीय कारोबारको निगरानी गर्ने तथा आर्थिक प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउने उद्देश्यले अनुसन्धानलाई थप सशक्त बनाइएको छ।